राजनीति

वैदिक मन्त्रोच्चारणसहित गौरका नगर प्रमुखद्वारा पदभार ग्रहण

रौतहट सदरमुकाम गौरका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले सपथ ग्रहण गरेका छन्।

शुक्रबार सपथ ग्रहण गरेसँगै नगर प्रमुख साहले नगरपालिका कार्यालय पुगेर नगरपालिकाको कार्यभार सम्हालेका छन्। २०७९ मा निर्वाचित हुने सबै जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि सुरु भएकोले कार्यकाल सुरु हुने दिन मै नगर प्रमुख साहले गौर नगरपालिकाको कार्यभार सम्हालेका छन्।

नगर पालिकाको कार्यालयमा कुर्सीमा बस्नु अघि नगर प्रमुख साहले कुर्सीलाई ढोगेका थिए। नगर प्रमुख साहलाई भारतको बिहार राज्य साधु समाजका संगठन मन्त्री बौआ हनुमान भन्ने गुरु मिथिलेश दासले वैदिक मन्त्रोच्चारणसहित स्वस्तिवाचन गर्दै आसन ग्रहण गराएका छन्।

नगर प्रमुखको आसनमा बस्दै साहले गौरको गौरव बढाउने र नागरिकको सम्मानमा वृद्धि गर्ने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गौर नगरपालिकामा आजदेखि नयाँ दिनको सुरुआत भएको नगर प्रमुख साहले बताएका छन्। नगर प्रमुख साहले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। नगर प्रमुख साहलाई कार्यालयमा नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०८:३७ शुक्रबार

रौतहट सदरमुकाम गौर