राजनीति

रौतहटका पाँच पालिका प्रमुखले लिए सपथ

रौतहटको एक गाउँपालिका र चार नगरपालिका प्रमुखले शुक्रबार सपथ लिएका छन्।

दुर्गा भगवती गाउँपालिका प्रमुख शम्भु सिंह, गौर नगरपालिकाका मेयर शम्भु साहकानु, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव र परोहा नगरपालिकाका मेयर शेख वकिलले शुक्रबार सपथ ग्रहण गरेका छन्।

रौतहटको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश काजीबहादुर गुरुङले सदरमुका मगौरमा नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन्। जिल्लामा दुई गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तह रहेकामा बिहीबार अबेर रातिसम्म पाँच पालिकाको अन्तिम परिणाम आएको हो।

अन्य केही पालिकाको परिणाम शुक्रबार आए पनि प्राविधिक कारणले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नसकेका हुन्। जिल्लाको अधिकांश पालिकामा मत गणना कार्य जारी रहेको छ। सपथ ग्रहण पछि कतिपय पालिका प्रमुखले शुक्रबार नै कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०८:१७ शुक्रबार

रौतहट दुर्गा भगवती गाउँपालिका रौतहटको मुख्य निर्वाचन अधिकृत