राजनीति

हार-जित पछिको त्यो हार्दिकता...

ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवार छत्रपति प्याकुरेल कांग्रेस उम्मेदवार अमिर मादेनसँग पराजित भए। मादेन विजयी भएको औपचारिक घोषणा हुने बित्तिकै प्याकुरेल मादेनको निवासमा पुगेर बधाइ दिए।

उनले मादेनलाई कार्यकाल सफलताको शुभकामना पनि दिए। पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा झिनो मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार रामकुमार थेबेले लोकतन्त्र भित्र हार जित स्वभाविक भएको भन्दै विजयी केशरकुमार सुब्बालाई रचनात्मक ढंगले ५ वर्षे कार्यकाल पूरा गर्न सुझाए।

दोस्रो कार्यकाल पनि पालिका अध्यक्षमै बिताउने गरी उम्मेदवारी दिएका एमाले उम्मेदवार सरोज एभेङ एभेङ फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा पराजित भए। गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार राजन (मुक्ति) लावुङसंग पराजित भएका एभेङ आफैं पालिका आए र नवनिर्वाचित अध्यक्ष लाबुङसहितका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ र कार्य सफलताको शुभकामना लिएर फर्किए।

चुनावी नतिजा कता जान्छ भन्ने स्पष्ट हेक्का नभएको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षका दुई प्रत्यासी गठबन्धनतर्फ कांग्रेसका लालकृष्ण चौहान र एमालेका सन्तोष चाम्लिङ चुनावी नतिजाको अन्त्यसम्म संगै बसेर नतिजातर्फ ध्यान लगाइरहेका थिए। अगाडि अग्रता हासिल गरेका चाम्लिङको गणनाको अन्तिम समयमा मतान्तर घट्न थाल्यो।

चाम्लिङ पराजित भए र चौहानले ६८ मतान्तरले विजयी प्राप्त गरे। हार भएपनि चाम्लिङ त्यही बसिरहे र आफ्ना प्रतिद्वन्दीलाई विजयीको शुभकामनासहित अंकमाल गरेर फर्किए। विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट उदाएका शान्ताकुमारी आङबुहाङ र प्रजिन हाङवाङ आठराइ त्रिबेणी गाउँपालिकाको उपाध्यक्षका प्रतिस्पर्धी थिए। नतिजा भने आङ्बुहाङको पक्षमा गयो।

हाङ्वाङले पराजयलाई सहजै स्वीकार्दै विजयी आङबुहाङलाई बधाइ दिएर फर्किए। हार र जितपछि देखिएका यस्ता घटनाले हार–जितलाई स्वभाविक मात्रै बनाएको छैन, प्रतिद्वन्दीबीच हार्दिकता समेत बढेको पाइएको छ। गैर सरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गबिक्रम सुवेदी यस्तो संस्कारले स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक संस्कारलाई थप सुद्रिढ गर्ने बताउँछन्।

‘सच्चा राजनीतिक संस्कार चाँही त्यहीँ हो, जसले हार र जितलाई द्वन्द र प्रतिद्वन्दको रुपमा लिदैंन’ यस्तो कार्यलाई असल रुपमा लिनुपर्ने बताउँदै उनले भने। प्याब्सननका पूर्व केन्द्रीय सदस्य समेत रहेका फुङलिङस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी विजयी प्राप्त गर्नेलाई कार्य सफलताको शुभकामना दिएर पराजित हुनेले बधाइ दिनु उच्च हार्दिकता र सामिप्यताको संस्कार भएको बताउँछन्।

प्रतिस्पर्धा निर्वाचनको दिनमात्र हुने र त्यसपछिका दिन प्रतिस्पर्धीले संगै मिलेर गाउँ समाजको विकासका लागि अग्रसर हुने अवस्थाको संकेत त्यसले गरेको उनको बुझाइ छ। यस्तो संस्कारले प्रतिस्पर्धीबीच देखिने वैचारिक तथा सहितका प्रतिस्पर्धा अन्त्य गराउँदै दुईबीच सामिप्यता बढाउन सहयोग गर्ने उनले बताए। ‘जित्नेलाई पराजित हुनेले दिने बधाइ र पराजित हुनेलाई जित्नेले दिने सान्त्वना उच्च राजनीतिक संस्कार हो’ उनले भने।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App