राजनीति

सप्तरीमा जसपाको गढ भत्काउँदै जनमत

सप्तरीको दुई पालिकामा जनतम पार्टी विजयी भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका र बलानविहुल गाउँपालिकामा जनमत पार्टीले जीत दर्त गरेका हुन्।

सप्तरीको वलान–विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। जनमत पार्टीका गाउँपालिका अध्यक्षका उम्मेदवार खेमचन्द्र यादव र उपाध्यक्षका उम्मेदवार रेणु यादव विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित यादवले २ हजार ९ सय ९४ मत प्राप्त गरेका छन्। वलान–विहुल गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका जसपाबाट मेयरका उम्मेदवार दयानन्द गोइतले २ हजार २ सय मत ल्याएर तेस्रो स्थानमा चिप्लिएका छन्।

यस पालिकामा उपाध्यक्षमा जनमत पार्टीबाट उपाध्यक्ष उम्मेदवार रेणु यादव २ हजार ६ सय ९० मत ल्याएर विजयी भएकि छिन्। उपाध्यक्षकी प्रतिस्पर्धी कांग्रेसकी आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरेकी छन्।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन्। निवर्तमान मेयर शैलेशकुमार साहलाई १ सय ६१ मतले पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन्। माझीले ६ हजार ४ सय ७  मत प्राप्त गरी विजयी भएका हुन्। साहले ६ हजार २ सय ४६ मत प्राप्त गरि दोस्रो सथानमा चिप्लिए।

०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए। ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए। राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए। जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि माझी मनोनयनको एक दिन अगाडि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए।

हनुमाननगर कंकालिनीको उपमेयरमा भने जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन्। ६ हजार ५ सय १२ मत ल्याएर उनी निर्वाचित भएकी हुन्। जनमत पार्टीबाट उपमेयर उम्मेदवार रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरेकि छिन्। १४ वटा वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको ७ वडामा जसपा, ४ वडामा माओवादी केन्द्र २ वडामा जनमत पार्टी र एउटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App