राजनीति

गाउँपालिका अध्यक्षको पहिलो निर्णय: जनयुद्धमा वेपत्ता भएकाको सम्झनामा चौतारी निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले तत्कालिन माओवादी जनयुद्धको समयमा वेपत्ता भएका नागरिकको सम्झनामा चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। 

बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण प्रश्चात पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले २०६० चैत ५ गतेदेखि वेपत्ता हुनुभएका रघुगंगा गाउँपालिका–१ बेगखोलाका श्याम प्रसाद रुचाल नेपालीको सम्झनामा चौतारी निर्माण गर्ने टिप्पणी आदेशमा हस्ताक्षर गरेका हुन्। 

अध्यक्ष भण्डारीले अन्य सार्वजनिक निर्माणबाट खर्च हुने गरि चौतारी निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। उनका अनुसार बेगखोलाको उपयुक्त स्थानमा उक्त चौतारी निर्माण निर्माण गरिनेछ।  

वेपत्ता पारिएका व्यक्तिहरुको परिवारलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरु तय गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सबै स्थानीय तहलाई पत्राचार समेत गरेको थियो। ‘विगतका अधुरा योजनाहरू अब प्राथमिकतामा पर्नेछ,‘हरेक योजनाहरु समुदायभित्रका जनतामा केन्द्रित हुन्छ’ अध्यक्ष भण्डारीले भने।काँग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भण्डारी निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। 

गाउँपालिकामा सत्तारुढ गठबन्धन एक्लै चुनावी मैदानमा सहभागी भएर अध्यक्ष र उपाध्यक्षसहित बहुमत ८ मध्ये ५ वडामा विजय हासिल गरेको थियो। यसैबीच बुधवार नै रघुगंगाका सबै जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत तेजनाराण पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि अध्यक्ष भण्डारीद्वारा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन लगायत ८ वटै वडाका जनप्रतिनिधिलाई सपथ ग्रहण गराईएको थियो 

प्रकाशित: ४ जेष्ठ २०७९ १५:५३ बुधबार