राजनीति

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।

चार हजार २ सय १९ मत ल्याएका बोहोराले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार मेघनाथ पौडेललाई पराजित गरे। पौडेलले ३ हजार २ सय ६७ मत मात्रै पाए। नवनिर्वाचित उपाध्यक्ष नेपालले ४ हजार १ सय ५६ मत ल्याएर जित निकालिन।

पराजित उनकी निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सबिता श्रेष्ठले ३ हजार २ सय ६७ मत पाइन्। निर्वाचित अध्यक्ष बोहरा अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए। त्यतिबेला उनी एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठसँग थोरै मतान्तरले पराजित भएका थिए।

यो पटक एमालेकै उम्मेदवारलाई हराएर बोहराले बदला लिएका छन्। निर्वाचनको मुखमा निवर्तमान अध्यक्ष श्रेष्ठ कांग्रेस प्रवेश गरेका थिए। पराजित एमाले उम्मेदवार पौडेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका समकक्षी हुन्।

यो समेत जिल्लाका १२ स्थानीय तह मध्ये कांग्रेसले चार स्थानीय तहमा जित निकालेको छ। भोटेकोसी, हेलम्बु गाउँपालिका र बाह्रविसे नगरपालिका कांग्रेसले जितेको छ। बलेफी गाउँपालिका अध्यक्ष भने माओवादीले जित्यो।

चौतारा नगरपालिका र हेलम्बु गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। त्यहाँ क्रमशः माओवादी र एमाले उम्मेदवार जित नजिक पुगेका छन्। अरु सात स्थानीय तहमा मतगणना जारी छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:१५ मंगलबार

त्रिपुरासुन्दरी गाउँपालिका