राजनीति

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

लुम्बिनीमा २५६६ औं बुद्धजयन्ती धुमधाम सँग मनाइँदै

आज २५६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक बर्ष बैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झना स्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रमका बिच बुद्ध जयन्ती मनाइदै छ। बुद्ध जयन्तीका लागि लुम्बिनीलाइ सिंगारेर झकीझकाउ बनाइएको छ।  सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बुद्ध जयन्तीकै अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्र।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्। बुद्ध जयन्ती मूल समारोहमा सहभागीता र भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार साँझ नै लुम्बिनी आएका हुन्।

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा सँगै गृहमन्त्री बालकृष्ण खाँण,परराष्ट्रमन्त्री नारायण खड्का,भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादव,पर्यटन मन्त्री प्रेमबहादुर आले सहितका मन्त्रीहरू,सुरक्षा अंगका प्रमुखको टोली पनि लुम्बिनीमा छ।

मोदी बिहान करिब १०.३० बजे वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउने छन्। मोदी भारतको उत्तर प्रदेश स्थित कुशीनगर (बुद्ध परिनिर्वाण तीर्थ)बाट हेलिकप्टरद्धारा सिधै लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम  रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए।

मोदी सहित भारतीय उच्च पदस्थ अधिकारीहरु चारवटा हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ।  मोदीको सुरक्षाकालागि स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी) को टोली पाँच दिन अघि नै लुम्बिनी आइपुगेको थियो।  

 मोदीले लुम्बिनीमा करिब ४ घण्टा बिताउने बताइएको छ । लुम्बिनी विकास कोषका अनुसार मोदीले मायादेवि मन्दिरको दर्शन गरी मन्दिर भित्र रहेको मार्कर स्टोनमा पुष्प अर्पण गरी पुजा गर्ने,पुष्करणि पोखरीको अवलोकन सहित अशोक स्तम्भ अगाडि दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मोदीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गर्ने उपाध्यक्ष त्रिपाठीले जानकारी दिए । त्यसलगत्तै मोदीले मायादेवि मन्दिर परिषरमा रहेको बोधीबृक्षमा जल अर्पण गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने छन ।मोदीको मायादेवि मन्दिर दर्शनका बेला बौद्ध धर्मगुरुको सानो टोलीलाइ मात्रै प्रवेश दिइने छ ।  

भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्धारा निर्माण गरीने बौद्ध बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गर्ने कार्यक्रम छ।  

लुम्बिनीको होटल पवनमा केही समय बिश्राम पछि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच दुइपक्षीय मामिलामा छोटो भेटवार्ताको कार्यक्रम तय भएको छ। त्यसलगतै पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले जानकारी दिए 

दिउँसो २ बजे लुम्बिनी स्थित नवनिर्मित सभाहलमा आयोजना गरीएको २५६६ औं बुद्ध जयन्ती मुल समारोहमा प्रधानमन्त्री देउवासंगै मोदीले  सरीक भइ सम्बोधन गर्ने कार्यक्रम छ। मोदी ३ बजे लुम्बिनीबाट फकर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।  

प्रधानमन्त्रीका रुपमा मोदीको यो नेपाल भ्रमण पाँचौ हो। लुम्बिनी भ्रमण पहिलो हो। यसअघिका भ्रमणमा उनले पशुपतिनाथ,जनकपुरको जानकी मन्दिर र मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूर्जाआजा गरेका थिए।

प्रकाशित: २ जेष्ठ २०७९ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App