राजनीति

दाङका गाउँपालिकाहरूमा मतगणना जारी

दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ। अहिलेसम्मको मत गणनाअनुसार राप्ती गाउँपालिकामा माओवादीले अग्रता कायम राखेको छ। यो गाउँपालिकामा सत्तारुढ गठबन्धनका दलहरूका बीचमा तालमेल भएको थिएन।

यसैगरी कांग्रेसले दंगी शरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबईमा अग्रता लिइरहेको छ। यस्तै राजपुर गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ भने गढवा गाउँपालिकामा एमालेको अग्रता छ।

यसैगरी घोराही उपमहानगरपालिकामा मतगणना केहीबेरमै सुरु गर्ने तयारी छ भने लमही नगरपालिकामा पनि अब केहीबेरमै मतगणना सुरु हुनेछ। यस्तै तुलसीपुर उपमहानगर पालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना हुनेछ।

यो उपमहानगरको १७ नम्बर वडाका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा शुक्रबार निर्वाचन हुन सकेन। यो वडामा आगामी जेठ ३ मा निर्वाचन हुने र सोही दिनदेखि नै उपमहानगरको मतगणना सुरु गर्ने  निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०२:५३ शनिबार

गठबन्धनका दलहरू मतगणना सुरु