राजनीति

मुलुकभर महोत्सवमय मतदान

४४ केन्द्रमा स्थगित ६४ प्रतिशत मतदान ओलीको आक्रोश, कांग्रेसले दियो धन्यवाद

तनहुँको खैरेनीटार माध्यमिक विद्यालयको मतदान केन्द्रबाहिर पालो कुरिरहेका मतदाता। तस्वीर: विनोद ढुंगाना/नागरिक

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। 

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आम जनताले गरेको मतदानमार्फत ७ सय ५३ स्थानीय तहका लागि प्रतिस्पर्धामा रहेका १ लाख ४५ हजार ११ उम्मेदवारको भाग्य र भविष्य मतपेटिकामा कैद भएको छ। ३५ हजार २ सय २१ प्रतिनिधिका लागि भएको निर्वाचनमा देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ।

‘कतिपय ठाउँमा विभिन्न कारणले रोकिएको मतदान भइरहेको हुँदा प्राप्त तथ्यांकअनुसार साँझ ७ बजेसम्म देशभर ६४ प्रतिशत मतदान भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने, ‘काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदाहुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ, यो सन्तोषजनक छैन।’ आयोगले ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको थियो।

नयाँ नेतृत्वको प्रतिस्पर्धामा रहेका राजनीतिक दल र उम्मेदवारका लागि मात्र होइन, आमजनता उत्साहपूर्वक मतदानमा सहभागी भए पनि केही स्थानमा भने झडपका साथै असामान्य अवस्था सृजना भएको छ। प्रतिस्पर्धी राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रिय हुँदा ४४ ठाउँको मतदान स्थगित भएको छ। १४ जिल्लाका १७ स्थानीय तहअन्तर्गत २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको आयोगले जनाएको हो।

एकै चरणमा निर्वाचन गर्दा सुरक्षा व्यवस्था मजबुत हुन नसकेको प्रारम्भिक आकलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल तथा उम्मेदवारबीच भएका अत्यन्त सानातिना विवाद बढ्दै जाँदा केही ठाउँमा प्रहरीद्वारा बल प्रयोग गरी मतदान स्थगन गर्नुपरेको छ भने केही स्थानीय तहमा वर्षाका कारण सबै मतदाता उपस्थित हुन नसक्दा सम्बन्धित मतदान अधिकृतले निर्वाचन स्थगन गर्नुभएको छ।’

मतदान स्थगित भएका मतदान केन्द्रमा त्यहाँको अवस्था बुझेर अर्को निर्वाचनका लागि मिति तोक्ने आयोगले जनाएको छ। ‘स्थगन गरेका मतदान केन्द्रमा हामीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थितिसमेतको आधारमा छिट्टै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने।

कतिपय ठाउँमा विवादका कारण केही समय मतदान स्थगित भए पनि आपसी सहमतिमा पुनः सञ्चालन हुनुका साथै साँझसम्ममा मतदान सम्पन्न भएको छ। आफ्ना प्रतिनिधि आफैं छान्ने नागरिकको सार्वभौम अधिकार प्रयोग गर्दै आमनागरिकले आगामी ५ वर्षका लागि स्थानीय (गाउँगाउँमा सिंहदरबार) सरकार छनोट गरेका छन्। मतपेटिकामा कैद भएका तिनै जनप्रतिनिधिले आगामी ५ वर्ष ७ सय ५३ स्थानीय तहका ६७ सय ४३ वडा सरकार पनि चयन हुनेछन्। उनीहरूले नै सुशासन, आर्थिक विकासका साथै त्यहाँको दिशा र दशा मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिनिधित्व गर्नेछन्। तिनै जनप्रतिनिधिका लागि शुक्रबार मतदानसँगै अधिकतर स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको छ। केही ठाउँको मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले शनिबारदेखि मात्रै गणना सुरु हुनेछ।

दुर्गम जिल्लाका मतपेटिका ओसार्न समस्या भएकाले शनिबार हेलिकोप्टरको माध्यमबाट ओसार्ने गरी आवश्यक प्रबन्ध मिलाएको आयोगले जनाएको छ। ‘जहाँजहाँ मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्, ती ठाउँबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने काम राति नै भइसकेको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘केही स्थानीय तहले शुक्रबार रातिदेखि नै मतगणना प्रारम्भ गर्ने जानकारी गराउनुभएको छ भने केही स्थानीय तहको मतपेटिका संकलन भइसके पनि शनिबार बिहानदेखि मात्र गणना गर्न प्रारम्भ हुन्छ।’

एक साताभित्र सबै स्थानीय तहको मतगणना सक्ने निर्वाचन आयोगले दाबी गरेको छ। तर, फितलो व्यवस्थापनका कारण उम्मेदवारी दर्ता भएको एक सातामा पनि उम्मेदवारको संख्या यकिन गर्न आयोग असफल देखिएको थियो। संविधान सभाबाट संविधान जारीपछि पहिलो पटक २०७४ वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा भएको स्थानीय तहको निर्वाचन यस पटक एकै चरणमा सम्पन्न भएको हो। अहिले एकैपटक देशभरका कुल १० हजार ७ सय ५६ मतदान स्थलमा रहेका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा भएको निर्वाचन महोत्सवकै रूपमा सम्पन्न भएको छ।

महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २ सय ७६ र ४ सय ६० गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईजना खुला सदस्य गरी ३५ हजार २ सय २१ पदमा नयाँ प्रतिनिधि छानिँदै छन्। एक जना मतदाताले एकै पटकमा आफ्नो पालिका र वडाका लागि सात जना प्रतिनिधि छानिने यो निर्वाचनको क्रममा ३ सय ९० जना र्निविरोध निर्वाचित भइसकेका छन्। नौ जना उम्मेदवारको निधन हुँदा यसअघि नै शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको थियो। बिहीबारसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले आफ्नो मन परेका उम्मेदवार छान्ने अवसर पाएका थिए। मतदातामध्ये ८७ लाख ४१ हजार ५ सय ३० महिला र ८९ लाख ९२ हजार १० पुरुष र अन्य १ सय ८३ जना छन्।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षीय गठबन्धनले निर्वाचनका बेला उत्तेजित गतिविधि गरी अनावश्यक रूपमा निर्वाचनको वातावरण बिथोल्ने तथा अनुचित ढंगले हिंसा भड्काउने काम गरेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सत्ता गठबन्धनले कतिपय ठाउँमा आफ्नो पार्टीविरुद्ध नक्कली मतपत्रसमेत छापी वितरण गरेको दाबी गरेका छन्। उनले गृह प्रशासन पनि अस्वाभाविक रूपमा असन्तुलित देखिएको आरोप लगाएका छन्।

‘लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यस प्रकारको अधिनायकवादी कार्य भयो,’ विज्ञप्तिमा भनिएको छ। उनले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गर्दै सरकारले पूर्वाग्रही र पक्षपाती व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा स्वच्छ निर्वाचनविपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएको र भयत्रास सिर्जना गरी मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट गरेका उजुरीप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।’

कहाँ के भयो

देशका विभिन्न ठाउँमा राजनीतिक दलबीच विवाद, झडप, हवाई फायरदेखि मतपेटिका लुट्ने प्रयासलगायत छिटपुट हिंसात्मक घटनाका बीच स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार सबैभन्दा बढी सुदूरपश्चिमका १० केन्द्रमा मतदान स्थगित भएको छ। त्यसबाहेक प्रदेश १ मा एक, मधेस प्रदेशमा नौ, वाग्मती प्रदेशमा सात र कर्णालीमा चार केन्द्रमा मतदान स्थगित भएको छ। 

‘राजनीतिक दलहरूबीचको द्वन्द्व, झडप र हिंसात्मक घटनादेखि विभिन्न कारणले देशभर एक सय ११ मतदान केन्द्रमा मतदान स्थगित भएकामा ७६ मतदान केन्द्रमा पुनः सुचारु भएको थियो,’ उनले भने। राजनीतिक दलबीच विवाद चर्किएपछि सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको थियो।

त्यस्तै बाजुराको बुढीनन्दा गाउँपालिकाका दुईवटा मतदान केन्द्रमा स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड, बझाङको जयपृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा तीन राउन्ड र बुढीगंगा गाउँपालिकाको एक मतदान केन्द्रमा दुई राउन्ड हवाई फायर भएको थियो।

वाग्मती प्रदेश अन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोडसम्मका घटना भएका थिए। रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो। रौतहटको यमुनामाई गाउँपालिका–२ मा मतपेटिका लुट्ने प्रयास भएको थियो। मतदान केन्द्रमा रहेको मतपेटिका लुटेर मतदान स्थलबाट बाहिर भाग्दै गरेका उनीहरूलाई निर्वाचन सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए। उनीहरूले मतदान केन्द्रबाट मतपेटिका लुटेर बाहिर निकाली तोडफोड गरेका थिए। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीका अनुसार रौतहटका विभिन्न मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी गर्ने गतिविधि भएका छन्।

त्यस्तै प्रदेश १ धनकुटाको सहिद भूमि गाउँपालिका–६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ मा राजनीतिक दलबीच विवाद चर्किएपछि मतदान रोकिएको थियो। प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ मतदान केन्द्रमा उम्मेदवार छनोटलाई लिएर विवाद हुँदा एमाले र माओवादीका कार्यकर्ताबीच ढुंगामुढा भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो।

तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान स्थलमा मतपत्र च्यातेपछि मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो। मतदान स्थलमा विवाद हुँदा जोशी समूह र नेपाली कांग्रेस समूहबीच झडप भएको थियो।

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले देशभर मतदानको क्रममा छिटपुट हिंसात्मक घटना भएको जनाएको छ। ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुंगा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत र दैलेखलगायतका कतिपय निर्वाचन केन्द्रमा हिंसात्मक घटना भई सुरक्षाकर्मीद्वारा हवाई फायर गर्नुपर्ने अवस्था सिर्जना भएको पाइयो,’ इओसी नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जसले आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा सवाल उठेको छ। कतिपय स्थानमा मतदान स्थगन भई फेरि निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ।’

प्रकाशित: ३१ वैशाख २०७९ ००:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App