राजनीति

मुस्लिम आयोगका अध्यक्षमाथि पैसा बाँडेको आरोप

पैसा बाँडेका आरोप लगाइएको हो, बाँडेको प्रमाण भेटिएनः सिडिओ

जनकपुरधाम स्थित सीतासरण होटलमा सुरक्षाकर्मीको सुरक्षा घेरामा मुस्लिम ओयोगका अध्यक्ष समिम मियाँ अन्सारी तस्विरः नागरिक

स्थानीय तहको निर्वाचनभन्दा एक दिन अघि विहीबार मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई जनकपुरधाममा मत प्रभावित गर्न पैसा बाँडेको आरोपमा अवरोध गरेको छ। 

जनकपुरधामको सीता शरण होटेलको३०५ नम्बर कोठमा बसेका मियाँ मुस्लिम समुदायका अगुवाहरुलाई होटलमा बोलाएरपैसा बाँडेर मत प्रभावित पार्न खोजेको आरोप लगाउँदै होटल अगाडि अवरोध गर्न थालेपछि सशस्त्र प्रहरीले सुरक्षा दिँदै जनकपुरधाम विमानस्थल पुर्याएको सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिअइजी गणेश ठाडामगरले जानकारी दिए।

अन्सारीलाई निर्वाचनका समयमा पैसा बाँडेको आरोप लागाइएको हो तर उनीसँग पैसा बरामद भएको होइन डिआइजी मगरले बताए। उनलाई सुरक्षा प्रदान गरी जनकपुरधाम विमानस्थल पुर्याइएको छ। केहीबेरमा उनी काठमाडौंका जाँदै छन्, उनले भने।  

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकसँग भने,‘मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ पैसा बाँड्दै गर्दा पक्राउ परेको समाचार सत्तप्रतिशत गलत हो। उहाँ सीताशरण होटलमा बस्नु भएको थियो प्रजिअ पौडेलले भने,‘केही समुहले पैसा बाँडेको आरोप लगाउँदै अवरोध गरेपछि सुरक्षाकर्मी पठाएर उहाँलाई सुरक्षित काठमाडौं पठाइएको हो। उहाँले चुनावमा पैसा बाँडेर मत प्रभावित गरेको प्रमाण नभेटिएको प्रजिअ पौडेलले बताए।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले भने,‘हामीले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पक्राउ गरेकै छैन। उहाँलाई केहि समुहले अवरोध गरेपछि हामी सुरक्षा प्रदान गरेर सुरक्षित विमानस्थल पुर्याइदिएका हौं, उनले भने।’

मियाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ सालमा मुस्लिम आयोगको अध्यक्ष नियुक्त गरेको थियो। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी संसदीय समितिमा परेको थियो। उजुरीको टुंगो नलाग्दा उनको नियुक्ति सदर भएको थियो। उनी पटकपटक विवादमा पर्दै आएका छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०७:५९ बिहीबार