राजनीति

कांग्रेसले गर्‍यो पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जनालाई कारबाही

 नेपाली कांग्रेसले चितवनका पाँच जना कार्यकर्तालाई कारबाही गरेको छ। पार्टीको निर्णय विपरित चुनावमा लागेको भन्दै पूर्व पार्टीको केन्द्रीय कार्यालयले सांसद भिमबहादुर श्रेष्ठ लगायतका कार्यकर्तालाई कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु आर्याल, पूर्व सचिव आनन्द राउत, पार्टीका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डा.केशव पौडेल रहेका छन्। उनीहरु सबै भरतपुर महानगरपालिका बासी हुन्। भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलको पक्षमा खुलेर लागेका थिए। 

पार्टीको विधान विपरित कारबाही गरेको पत्र जिल्ला कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए। नेपाली कांग्रेसले भोलि हुन लागेको स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवार विरुद्ध सक्रिय भएर लागेको भन्दै कारबाही गरेको जनाएको छ। 

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा प्रचण्ड पुत्री रेनु दाहाललाई उठाएको छ। तर, त्यसको विरुद्धमा नेपाली कांग्रेसका असन्तुष्ट पक्षले जगन्नाथ पौडेललाई उठाएको थियो। यसअघि पौडेलसहित पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र महाधिवेशन प्रतिनिधि मिना खरेललाई कांग्रेसले कारबाही गरिसकेको छ। तर, उनीहरुले कारबाही केही फरक नपर्ने बताउँदै आएका छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०७:४७ बिहीबार