राजनीति

नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्। मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पर्‍याउने जिम्मा एमालेले लिने बताएका हुन्।

स्थानीय निकाय निर्वाचनमा एमालेलाई अत्याधिक मतले विजयी बनाइ देश बनाउने अभियानमा साथ दिन उनले मतदाताहरुलाई आग्रह गरे। ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ। यस अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं,’ ओलीले भने।

‘आत्मनिर्भर अर्थतन्त्र, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका काम एमालेले नै गर्ने हुँदा अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सबै सहभागी हौं,’ अध्यक्ष ओली भने, ‘स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई विदेश जानबाट रोक्दै उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको छ।’

‘भोट हालेनौं भने’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन ओलीको चेतावनी छ। अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उनको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०७९ ०८:५४ मंगलबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय निकाय निर्वाचन