राजनीति

वैशाख ३० गतेपछि ओलीको गुट सधैंका लागि समाप्त: नेता खनाल

नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले वैशाख ३० गतेपछि एमाले अध्यक्ष केपी ओलीको  गुट सधैंका लागि समाप्त हुने जिकिर गरेका छन्। उनले देशका हरेक परिवर्तनका निम्ति संयूक्त संघर्ष र गठबन्धनबाट मात्र सम्भव हुने बताउँदै ओलीको अंहाकार तोड्नका लागि पनि गठबन्धन गर्नुपरेको प्रस्टयाए।  

 ‘१०४ वर्षे राण सासन होस् वा ३० वर्षे पञ्चायत व्यवस्था र राजा ज्ञानेन्द्रको शासन समाप्त पार्न जसरी संगठीत ढंगले सम्भव भयो, त्यही गरि ओलीको अंहाकार तोड्न र संविधानलाई सही गतिमा अघि बढाउन गठबन्धन गर्नुपरेको हो,’ वरिष्ठ नेता खनालले सोमबार इटहरीमा लोकतान्त्रित गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन क्रममा भने। उनले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै अहिले बनेको गठबन्धन संविधान रक्षाका लागि नै भएको जिकिर गरे।

‘इतिहासले बनाएको विरासतलाई अघि बढाएर बढनुको विकल्प छैन,’ उनले भने, ‘वैशाख ३० गतेपछि ओली ठन्डा हुनेछन्।’ ओलीले गरेका असंवैधानिक गतिविधिहरू सबै सामु जगजाहेर भएको बताउँदै नेता खनालले देशमा संविधान विपरीत कार्य पटकपटक गरेपनि आफूहरूले सम्झाउदा ओली अहंकारको बाटोमा मात्र अघि बढेको बताए।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अंहाकारको घोडामा बसेको कमरेडलाई उत्र्रानका लागि गठबन्धन गर्नुपरेको बताए। केपी शर्मा ओलीले एमाले क्वीन्टल र अरु पाँच दल एक÷एक किलोको ढक भनेर टिप्पणी गरेको  जवाफमा उनले भने, ‘तपाईँहरू एक क्वीन्टल नै हो, हामी तोला हौँ, कमरेडलाई थाहा नहोला, तर बजारलाई थाहा छ, तोलाको मूल्य।’  नेकपा एमाले एक क्वीन्टलको आलु भएको र आफूहरू एक–एक तोलाको पाँच तोला सुन भएको उनको तर्क छ।  

उनले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेर देशको संविधानलाई सही गतिमा अघि बढाउन बनेकाले गर्दा एक दिनका लागि मात्र तालमेल भएको बताए। ‘पार्टी एकीकरण हुन लागेको होइन, एउटा आवश्यकतालाई सहजतापूर्वक बुझिदिन परियो,’ नेता शर्माले भने, ‘तालमेल बिना जिन्दगी त बन्दैन, राम्रो गायकले गीत त गाउन सक्दैन, राम्रो संगीतकारले संगीत भर्न सक्दैन, साहित्यमा तालमेल भएन भने कविता बन्दैन, प्रकृतिले तालमेल नगरे ईन्द्रेणी बन्दैन।’  

गठबन्धनले जिते प्रणालीको विजय, संविधानप्रतिको आकर्षण र देशको राजनीतिक आकर्षण हुने शर्माले बताए। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन्।

प्रकाशित: २६ वैशाख २०७९ १४:१५ सोमबार