राजनीति

ओलीले धम्क्याउँदै भनेः संघ र प्रदेशमा एमालेले जित्छ, पालिकामा अर्कैले जिते योजना कार्यान्वयन हुँदैन

पोखरामा सोमबार चुनावी सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः उमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरेली मतदातालाई एमालेले हारेमा विकास नहुने भन्दै धम्क्याएका छन्। एमालेले सोमबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संघ र प्रदेशको चुनावमा एमालेले जित्ने निश्चित भएकाले पालिकामा पनि एमालेलाई जिताउनुपर्ने बाताए। अन्यथा पालिकाको विकास नहुने उनले चेतावनी दिए।  

संघ र प्रदेशमा आफ्नो पार्टी र पालिका अर्कै पार्टीले जितेको अवस्थामा बजेट नदिने घुमाउरो पाराले धम्की दिदै उनले भने, ‘आउँदो संसदीय निर्वाचनमा कसले जित्छ? एमालेले जित्छ। प्रदेशमा कसले बहुमत ल्याउँछ? एमालेले बहुमत ल्याउने निश्चित छ। तर, संघ र प्रदेशमा बहुमत ल्याएर एमालेले सरकार बनाउने अनि पालिकामा चाहिँ हार्‍यो भने केन्द्रका नीति, योजना र बजेट पालिका बाटै खारेज हुन्छ।’  

त्यसो भएमा स्वच्छता र गतिशिलता पालिकाबाट नआउने उनको भनाई थियो। त्यसैले संघ, प्रदेश र पालिकामा एमालेलाई जिताउनुपर्ने उनले बताए। आफूले धम्क्याए पनि एमाले अध्यक्ष ओलीले गठबन्धनका दलहरुले कांग्रेस र जनतालाई धम्क्याईरहेको आरोप पनि लगाए।  

उनले भने, ‘चितवनमा भरतपुरका जनतालाई प्रचण्डले मेरो छोरीलाई जिताएनौ भने देश दुर्घटनामा पारिदिन्छु भनेर धम्क्याए। पोखरामा माधव नेपालले दम्भ नदेखाउ, दम्भ देखायौं भने सर्वनास हुन्छ भन्दै धम्क्याए।’ आफ्नो स्वार्थपूर्तिका लागि प्रचण्ड र माधव नेपालले कांग्रेस र जनतालाई धम्क्याएको उनको आरोप थियो।

अध्यक्ष ओलीले कांग्रेसले पार्टीलाई सिद्धान्तहिन बनाएको आरोप पनि लगाए। कांग्रेस नेतृत्वले आफ्ना कार्यकर्तालाई हरेक पटक रुखमा भोट हाल्न नदिएर पार्टीलाई सिद्धान्तहिन र गन्तव्यविहीन बनाएको उनको आरोप थियो। ‘कांग्रेसले भरतपुरका जनतालाई अघिल्लो पटक पनि रुखमा भोट हाल्न दिएनन्। अहिले फेरी रुखमा भोट हाल्न बञ्चित गराउँदैछ। प्रचण्डको छोरीका लागि कांग्रेस नेतृत्वले पार्टीलाई सिद्धान्तहिन, गन्तव्यविहीन बनाउँदैछ,’ उनले भने।  

प्रकाशित: २६ वैशाख २०७९ १०:०४ सोमबार

एमालेका अध्यक्ष केपी शर्मा ओली