राजनीति

उम्मेदवारद्वारा तलब भत्ता सामाजिक सेवामा लगाउने घोषणा

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बागलुङमा दलहरुले चुनावी प्रचार-प्रसारलाई तीव्रता दिएका छन्। स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न चाहानेहरु बीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा जनप्रतिनिधिले पाउने तलब भत्ताका कारण त्यस्तो भएको भनेर आलोचना पनि तीव्र हुने गरेको छ।

चुनावी सरगर्मी बढ्दै जाँदा दल उम्मेदवारहरुले आफ्नो पक्षमा भोट कसरी बढाउन सकिन्छ भनेर लागेका छन्। बागलुङमा अहिले उम्मेदवारहरुले धमाधम आफू जनप्रतिनिधिमा निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा पाउने सेवा सुविधा सामाजिक काममा लगाउने घोषणा गर्न थालेका छन्।

पाँच दलिय गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठ र राजु खड्काले घोषणापत्रमै उल्लेख गरेर जनप्रतिनिधिको रुपमा आफूहरुलाई आउने भत्ताबाट आपतकालिन सहयोग कोषको स्थापना गरी गम्भीर मानवीय समस्यामा परेका व्यक्तिहरुलाई उपलब्ध गराउने घोषणा गरेका छन्।

‘पारिवारिक रुपमा सबै व्यवस्थापन गरेर हामी राजनीतिमा आएका हौं,’ नगरप्रमुख पदका उम्मेदवार बसन्त कुमार श्रेष्ठ भन्छन्, ‘राजनीति पेशा भन्दा पनि सेवाको रुपमा विकास गर्नुपर्छ भनेर घोषणा पत्रमै हामीले त्यो खालको उल्लेख गरेका छौं।’

गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका राजु खड्काले राजनीति महङ्गो हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘मसंग धेरै सम्पत्ति भएको भएर मैले तलब भत्ता सामाजिक काममा लगाउँछु भनेको होईन,’ उनले भने, ‘राजनीति निकै महङ्गो हुँदै गएको छ। मैले निर्वाचन जितिसकेपछि पनि कार्यालयमा नीतिगत काममा लागि केही दिन र धेरै जनताको माझमै बस्ने घोषणा गरेको छु। जनताको घरमा बस्ने जनताको काम गर्ने जनतासंगै खाने हो।’

सामान्य मान्छेले राजनीति गर्ने नसक्ने अवस्था सिर्जना हुन थालेको उनको भनाइ थियो। काठेखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका राजु थापाले पनि सेवा सुविधा दिन दुःखीको सेवामा लगाउने घोषणा गरेका छन्।

‘मैले आफ्नो परिवारको खर्च चल्नेगरी केही व्यवसायमा लगानी गरेको छु, छोराहरुको पनि राम्रो सहयोग छ,’ थापा भन्छन्, ‘जनप्रतिनिधि निर्वाचित हुँदा राज्यकोषबाट आउने सुविधा विपन्न नागरिकका लागि खर्च गर्ने योजना बनाएको छु।’ थापा बेल्जियमको सेवा सुविधा र व्यवसाय छोडेर नेपाल आई गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन्।

गलकोट नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका पूर्ण काउचाले पनि तलब भत्ता सामाजिक र दीन दुखीको सेवामा लगाउने घोषणा गरे। ‘लामो समय विदेशमा बस्दा आर्जन गरेको केही रकम व्यवसायमा लगानी गरेको र परिवारका अन्य सदस्यहरु पनि काममा जोडिएकाले आफूलाई समस्या नभएको उनी बताउँछन्।

‘परिवारका अन्य सदस्यहरुले पनि काम गर्छन्, मेरो आमाको पेन्सन छ,’ उनले भने, ‘मैले पनि केही काममा लगानी गरेको छु। सरकारी तलबभत्ताको भर पर्नु पर्दैन।’ गत निर्वाचनमा काठेखोला गाउँपालिका—१ पालामा वडाध्यक्ष निर्वाचित हुनु भएर तलब भत्ताबाट गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण र विद्यालयमा कोष निर्माण गरेका खडकबहादुर थापाले यस पटक पनि आफू निर्वाचित भएर त्यसरी नै तलब भत्ताको सदुपयोग गर्ने बताए।

‘राजनीति त मूल रुपमा जनताको सेवा नै हो, गत निर्वाचनमा निर्वाचित भएपछि आएको सेवा सुविधाको रकमबाट पनि मैले केही रकम पोषण सामग्री वितरण र केही विद्यालयमा कोष निर्माणका लागि खर्च गरेको छु,’ थापाले भने, ‘दुई लाख १६ हजार बढिको कोष बनाएको छु। अब पनि निर्वाचित भएपछि पाउने सेवा सुविधाको यस्तै काममा उपयोग गर्नेछु।’

वडा सदस्य हुँदा पाएको तलब भत्ताले वडाभरीका विद्यालयलका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेका जैमिनी नगरपालिका-७ का केन्द्र रसाईली अहिले वडाध्यक्ष उम्मेदवार बनेका छन्। वडाध्यक्ष निर्वाचित भएपछि पाउने सेवा सुविधा पहिलेकै जसरी उपयोग गर्ने सोचमा उनले बताए।

‘मैले जनप्रतिनिधि हुँदा सरकारी कोषको पैसाबाट पानी पनि पिउँदिन भनेको छु,’ उनले भने, ‘अघिल्लो पटक विद्यालय र विद्यार्थीको लागि सहयोग गरेका थिए। यसपटक निर्वाचित भए भने अघिल्लो पटक भन्दा धेरै रकम पनि आउँछ। त्यसलाई गरिब असाह्यको हितमा खर्च गर्छु। मलाई आउने सेवा सुविधाले भ्याउने सामाजिक क्षेत्रमा लगाउँछु।’

बागलुङ नगरपालिका-३ का शनि केसी लक्ष्मणले पनि तलब भत्ता सामाजिक सेवामा लगाउने बताएका छन्। काठेखोला गाउँपालिकामा एमालेबाट अध्यक्ष उम्मेदवार डिलबहादुर कार्कीले सामाजिक सञ्चालनबाट सोही घोषणा गरेका छन्।

उनीहरु सबैले आफ्नो परिवारको जिविको पार्जनका लागि अन्य पेशा र व्यवसायसंग जोडिएकाले जनप्रतिनिधि हुँदा गलत काम नगर्ने प्रतिबद्धता जनाउँछन्। यसरी सरकारी सेवा सुविधा नलिने धमाधम घोषणा भैरहँदा नागरिकस्तरबाट भने भ्रष्टाचार र चुहावत रोक्न भने जनताको काम गरेर तलब भत्ता लिँदा कुनै फरक नपर्ने बताउँछन्।

प्रकाशित: २६ वैशाख २०७९ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App