राजनीति

एउटै समितिका तीन जना अध्यक्षका प्रतिस्पर्धी: गोरखाका २ वडा जनप्रतिनिधिविहीन

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर २ जनप्रतिनिधिविहीन भएको छ। यसअघिका सबैले राजीनामा दिएर फेरि उम्मेदवार बनेपछि अहिले वडा जनप्रतिनिधिविहीन भएको हो।

वडाध्यक्ष र दुई जना सदस्य अहिले वडा अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। अचलबाबु थापा नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि वडा अध्यक्षका उम्मेदवार छन्। यसअघि नेपाली कांग्रेसबाट वडा सदस्य भएका चेतबहादुर थापा मगर अहिले वडा अध्यक्षका उम्मेदवार छन् भने नेकपा माओवादी केन्द्रबाट सदस्यमा विजयी सकुन थापा मगर वडाध्यक्षको उम्मेदवार छिन्। एउटै समितिमा रहेर पाँच वर्ष काम गरेका अध्यक्ष–सदस्य बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

यीबाहेकका दुई जना सदस्य कल्पना बयलकोटी र हस्तबहादुर थापा फेरि एमालेबाट सदस्य पदका उम्मेदवार छन्। वडाका पाँचै जनाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि अहिले वडा जनप्रतिनिधिविहीन भएको छ।

वैशाख १४ गतेदेखि जनप्रतिनिधि नरहेको वडा सचिव कृष्णप्रसाद अर्यालले बताए। ‘नागरिकताको सिफारिस दिन, प्रतिलिपिको सिफारिस गर्न जनप्रतिनिधि नहुँदा समस्या भएको छ’ उनले भने ‘अब नयाँ जनप्रतिनिधि नआउँदासम्म हामीले कानुनभन्दा बाहिर गएर सिफारिस दिन सक्दैनौं।’ जनप्रतिनिधिले सिफारिस नदिंदासम्म सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउँदैनन्। शैक्षिक प्रमाणपत्रमा नाम सच्याउन, विदेश जाने अन्य प्रयोजनको सिफारिसका लागि वडाध्यक्ष अनिवार्य हुन्छ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ पनि जनप्रतिनिधिविहीन भएको छ। वडाध्यक्षका उम्मेदवार नारायण श्रेष्ठ, सदस्यहरू जीवन कुमाल, रामप्रसाद पाण्डे, मालती तिवारी, मिना सार्की पाँचै जनाले राजीनामा दिएका छन्। उनीहरू पुन अहिले माओवादी केन्द्रबाट उम्मेदवार छन्।

त्यहाँ पनि वडामा जनप्रतिनिधिले गर्नुपर्ने काम प्रभावित बनेको छ। जनप्रतिनिधि नभएको खण्डमा कसले सिफारिस गर्ने भन्नेबारे प्रष्ट कानुन नहुँदा कर्मचारीले काम गर्न सकेका छैनन् । अधिकांश वडामा अध्यक्षहरूले सदस्यलाई कार्यवाहक दिएर राजीनामा पेश गरेका छन्। सबै जनप्रतिनिधिले राजीनामा दिएको ठाउँमा सेवाग्राहीको काम रोकिएको छ। वैशाख ३० गते चुनाव भएपछि नयाँ जनप्रतिनिधिले सपथ लिएर काम सम्हाल्न कम्तीमा जेठ १० सम्म लाग्ने अनुमान कर्मचारीहरूको छ।

‘कार्यपालिकाबाट वडा सचिवलाई काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गर्न सकिन्थ्यो, तर त्यो पनि व्यावहारिक हुने देखिएन, कानुनमा पनि प्रष्ट छैन’ भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने। निर्वाचनमा कर्मचारी खटिएको, वडा स्तरमा अहिले कामको चाप खासै नभएकाले धेरै समस्या नआउने उनले बताए। ‘वडा र पालिकाबाट हल हुने समस्या हामीले समाधान गर्छौं’ उनले भने।

प्रकाशित: २६ वैशाख २०७९ ०२:१३ सोमबार

गोरखाको शहीद लखन गाउँपालिका जनप्रतिनिधिविहीन वडा