राजनीति

तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप

चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ। आठविसकोट –८, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा झडप भएको हो। जसका कारण चुनाव शान्तिपूर्ण नहुने आंशका गरिएको छ।

माओवादी केन्द्रका कार्यकर्ताहरु एक गाउँदेखि अर्को गाउँमा पसेर कांग्रेसको चुनावी गतिविधि रोक्न लागेको आरोप कांग्रेसले लगाएको छ। आफ्ना चुनावी कार्यक्रम रोक्न माओवादी कार्यकर्ताहरुले लुटपाटदेखि भौतिक आक्रमणमा उत्रिएको आरोप कांग्रेसले लगाएको छ।

जसका कारण हप्ता दिनदेखि रुकुम (पश्चिम) शान्त छैन्। माओवादीले कुनै रुकुमा भएको घटनाको प्रतिक्रिया समेत दिएको छैन्। शुक्रबार राती रूकुम (पश्चिम) को चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसको चुनावी कार्यक्रम विथोल्न माओवादी कार्यकर्ता पुगेपछि दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्। चुनाव गतिविधिका क्रममा चौरजहारी नगरपालिका –१ घारीगाउँमा माओवादी र कांग्रेस कार्यकर्ताहरुबीच झडप भएको हो।

कांग्रेस चौरजहारी नगरपालिका –१ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी, कांग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का प्रहरी प्रमुख (डिएसपी) विष्णुप्रसाद सोतीले बताए।

घाइते बिष्ट र बिकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जनाइएको छ। अन्य घाइतेहरुको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

त्यस्तै माओवादी कार्यकर्ताहरु एक गाउँबाट अर्को गाउँ गएर कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक बनेको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको आक्रोश रहेको छ। रुकुम माओवादीको पटक क्षेत्र हो। रूकुम (पश्चिम)मा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने गरेको रुकुम कांग्रेसले एक विज्ञप्तीमा भनेको छ।

आठविसकोट नगरपालिका– ८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका कांग्रेस नेताहरुमाथि आक्रमण गरेको र त्रिवेणी गाउँपालिका उपाध्यक्षले प्रयोग गरेको गाडी कब्जामा लिएको र अध्यक्ष उम्मेदवार अमरसिंह खड्काले प्रयोग गरेको गाडी तोडफोड गरेको गरी घर आगजनी गर्ने प्रयास गरेर गरगहना लुटपात गरेको आरोप रुकुम कांग्रेसले विज्ञप्ती जारी गरेर गरेको छ।

त्रिवेणीमा माओवादी आक्रमणबाट कृष्ण पुन, विरबहादुर ओली, दुर्गाबहादुर ओली, विरबहादुर ओली, झुपलाल ओली, नविन खड्का र चित्र खड्कालगायतका आफ्ना कार्यकर्ताहरु घाइते भएको रुकुम (पश्चिम) कांग्रेसले विज्ञप्तीमा जनाएको छ। त्रिवेणीमा माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकीमा समेत आक्रमण गरेको थियो।

‘कांग्रेसको पक्षमा रुकुममा माहोल राम्रो बन्दै गइरहेको बेला माओवादीहरु लुटपाट र भौतिक आक्रमण निस्किएका छन्।’ नेपाली कांग्रेस रुकुम (पश्चिम) का सभापति प्रेम प्रकाश ओलीले एक विज्ञप्ती जारी गरेर भने, घटनामा संग्लग्न व्यक्तिलाई तत्काल कारबाही गर्नु र शान्ति सुरक्षाका लागि अपिल गर्दै आफ्ना कार्यकर्तालाई धम्कीबाट विचलित नहुँन र उच्च मनोवलका साथ चुनावी मैदानमा खटिन अनुरोध गरिएको छ।’ कर्णालीप्रदेश प्रहरी कार्यालय सुर्खेतबाट डिएसपीको नेतृत्वमा छानविन र शान्ति सुरक्षाको लागि थप टोली रुकुम पुगेको छ।

प्रकाशित: २४ वैशाख २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App