राजनीति

खानेपानी समस्या समाधान, भित्री रिङ्गरोडदेखि उज्यालो धरान बनाउने योजना

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर, उपमेयरका उम्मेदवारसहित गठबन्धन दलका नेताहरु।

लोकतान्त्रिक बाम गठबन्धनले धरान उपमहानगरपालिकाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) बीचको गठबन्धनले शनिबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।

धरानमा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका किशोर राई उम्मेदवार छन् भने उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा उम्मेदवार छन्। मेयर र उपमेयरका उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले प्रतिबद्धता पत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

गठबन्धनले धरानलाई दीर्घकालीन योजना अन्तर्गत महानगर बनाउन पहल गर्ने, राज्यको सबै सेवा तथा सुविधा जनतालाई सम्भव भएसम्म वडा तहसम्मै उपलब्ध गराउने प्रतिबद्धता पत्रमा समेटेको छ। यस्तै, ठूला विकासका आयोजनाहरुलाई नगर गौरवको आयोजनाको रुपमा घोषणा गरी आवश्यक बजेट तथा प्राविधिक सहयोग विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायहरुको सहयोग जुटाउने पनि गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।

गठबन्धनले धरानलाई भाषिक सांस्कृतिक सहरको रुपमा विकास गर्ने, भ्रष्टचाररहित नगरको रुपमा विकास गर्ने, मिडिया तथा आइटीको १ नम्बर प्रदेशको हबको रुपमा विकास गर्ने, शैक्षिक, स्वास्थ्य, खेलकुद, पर्यटन एवं आवासीय शहरको रुपमा विकास गर्ने पनि गठबन्धनको प्रतिबद्धता पत्रमा समेटिएको छ।

मेयरका उम्मेदवार किशोर राईले जित हासिल गरिसके पछि प्रतिबद्धता पत्रमा उल्लेख भएका नीति, योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको बताए। उनले भने,‘यो हाम्रो धराने जनतासँगको वाचा हो, यही अनुसार हाम्रो ५ वर्षको कार्यकाल अघि बढाउँछौं।’ उनले ५ वर्षमा उज्यालो धरान र समृद्ध धरान बनाउने प्रतिबद्धता रहेको पनि बनाए। आफूहरुले गर्ने कार्य पारदर्शिता गर्ने र सामुहिक गठबन्धनको नेतृत्व गर्ने पनि उनले बताए।

खानेपानी समस्या दीर्घकालीन समाधान गर्ने

गठबन्धन दलहरुले धरानको मुख्य समस्या रहेको खानेपानी समस्याको दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता पनि जनाएको छ। हाल खानेपानी व्यवस्थापनमा देखिएको प्राविधिक लगायत समस्याहरुलाई विज्ञहरुको सल्लाहबाट समाधान गर्ने र चतरा कोशी, तमोरलगायत स्रोतहरुको पहिचान गरी वैकल्पिक उपायहरुबाट दीर्घकालीन समस्या समाधान खोजिने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।

खानेपानीको वितरण प्रणालीमा सुधार गर्ने र खानेपानी बोर्डलाई आधुनिकीकरण गरी डिजिटल प्रविधिमा लगिने प्रतिबद्धता जनाएको छ। अपूर्ण रहेको खानेपानी आयोजनालाई पूर्णता दिई दिगो र भरपर्दोरुपमा आपूर्तिको व्यवस्था मिलाउन सरकारबाट थप बजेटको व्यवस्था गर्ने पनि गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।

बजेट आउन नसक्ने अवस्था भए नगरपालिका आफैंले नागरिक सेयर निष्कासन गरेर आयोजनालाई सम्पन्न गर्ने, शेयरधनीलाई खानेपानी शुल्कमा विशेष सहुलियत उपलब्ध गराउने पनि चुनावी प्रतिबद्धता पत्रमा उल्लेख छ। गठबन्धनले धरानका सबै परिवालाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने र सबै घर परिवारमा खानेपानी धारा पुर्‍याउने गठबन्धनको प्रतिबद्धता जनाएको छ।

यस्तै, सर्दु जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने, गुरुयोजना बनाएर सिमांकन गर्ने, अन्य जलाधार क्षेत्रको संरक्षण तथा विकास गर्न गुरुयोजना बनाएर आवश्यक बजेट विनियोजन गर्ने पनि गठबन्धनको प्रतिबद्धता रहेको छ। 

भित्रि रिङरोड र विमानस्थल बनाउन पहल गर्ने

संघीय तथा प्रदेश सरकार, छिमेकी नगरपालिकाहरुसँग समन्वय गरी जोगवनी, विराटनगर, धरान, किमाथांका सडक छिटो सम्पन्न गर्न पहल गर्ने, धरान मुलघाट, तमोर करिडोर हुँदै ओलाङचुङगोला सडक सम्पन्न गर्न पहल गर्ने र धरान लेउती सुरुङमार्ग निर्माणको लागि पहल गर्ने पनि योजनामा समावेश छ।

यस्तै, धरान विमानस्थल स्वीकृति प्राप्त भइसकेको र यसको लागि उचित व्यवस्थापन गरी तत्काल निर्माण कार्य अघि बढाउन पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ। यस्तै, सर्दु तथा सेउती खोलामा तटबन्धन बनाएर वैकल्पिक सडक निर्माण गर्ने, नगरभित्र रहेका सेहरा, अँधेरी, कोकाहा, पखेरा, सनीबोटे, बसन्त खोला, पटनालीलगायत सानातिना खहरे खोलाहरुमा विकास गर्ने पनि उल्लेख छ।

यसैगरी, गठबन्धनले तीनकुने सप्तरंगी पार्क, सर्दुखोला किनार, फुसे्र, सारंगा डाँडा, शिवधारा सेउती, वसन्तटार, देउराली वा सेउती किनार हुँदै महादेव चोक तीनकुनेसम्म लामो भित्री चक्रपथ निर्माण गर्ने पनि जनाएको छ।

यस्तै, तीनकुने पटनाली, भालुढुंगा, विष्णुपादुका, चिण्डेडाँडा, तामाखाम, फुस्रे, सारंगा डाँडा, शिवधारा, बसन्तटार, पत्राङ्बारी, निसान डाँडा, मनुवाटार वा शिवजट्टा, दानाबारी, हर्दिया, मनुवाटार, ठिंगाबारी, चोक्टी, तीनकुने जोड्ने बाहिरी चक्रपथ पनि निर्माण गर्ने उल्लेख छ।

उज्यालो धरान बनाउने

गठबन्धनले धरानलाई उज्यालो धरानकोरुपमा विकास गर्ने भएको छ। यसको लागि सबै सडकमा सौर्य बत्ती जडान गर्ने, विद्युत नपुगेको क्षेत्रहरुमा विजुली विस्तार गर्ने, विद्युतमा आत्मनिर्भर बन्ने योजना ल्याउने, कम उर्जामा धेरै कार्य गर्ने नीति ल्याउने तथा फोहोरबाट ग्याँस र बिजुली निकालेर उर्जाकोरुपमा प्रयोग गर्ने पनि गठबन्धनले जनाएको छ।

बसपार्क तथा पार्किङस्थल

गठबन्धन दलहरुले धरान ८ तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माणाधिन रहेको आधुनिक बसपार्कलाई छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ भने भविष्यमा हुने आवश्यकतालाई ध्यान दिएर सप्तरंगी क्षेत्रमा बृहत् होल्डिङ क्षेत्र बनाउने पनि उल्लेख छ।

यस्तै, पानमारा, देउराली, विष्णुपादुका, पत्रङ्बारी, भेडेटार, शिवधारा, दानाबारीलगायत ठाउँहरुमा व्यवस्थित बसपार्क तथा पार्किङ क्षेत्र बनाउने, धरानको ड्रेनको एकीकृत दीर्घकालीन मापदण्ड र योजना बनाइ लागु गर्ने, क्लोज ड्रेनको समेत निर्माण गर्ने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।

गठबन्धनले धरानमा ५ वर्षभित्र नयाँ नापी गर्ने र संयुक्त आवास परियोजनाहरु सञ्चालन गर्ने, सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने पनि जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७९ १०:४६ शनिबार