राजनीति

सबैलाई समान व्यवहार गर्ने काठमाण्डु बनाउँछुः काठमाडौकी मेयर उम्मेदवार सिंह

गठबन्धनका तर्फबाट काठमाडौ महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैलाई समान व्यवहार गर्ने काठमाडौ बनाउने प्रतिबद्धता जनाएकी छन्।

गठबन्धनले शुक्रबार काठमाडौमा गरेको चुनावी सभामा बोल्दै उनले काठमाडौबासीले कल्पना गरे जस्तो काठमाडौ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताइन्।  

‘यहाँहरुले सोच जस्तो काठमाण्डु बनाउँछु। जात्रा, मठमन्दिर र सम्पदाहरुको काठमाण्डु बनाउँछु। सबैलाई समान र आफ्नो पन दिने काठमाडौ बनाउँछु,’ सिंहले भनिन्।  

उनले स्वच्छ, सफा, सुन्दर, सुरक्षित काठमाडौ बनाउने बताइन्। सिंहले आफ्ना अजेण्डामा जेष्ठ नागरिक, शिक्षा, खेलकुदका संरचना र क्लबहरुको परिचालन, जात्रा, पर्व, गुठी र सम्पदाहरुको संरक्षणलाई राखेको पनि बताइन्।  

यसैगरी उनले उपत्यका भित्रका नदीहरु सभ्यताका प्रतिक रहेको उल्लेख गर्दै तीनको संरक्षण र व्यवस्थापनको काम पनि गर्ने पनि बताइन्। ठाउँठाउँमा महिलामैत्री शौचालय र ठाउँठाउँमा निःशुल्क स्वच्छ खानेपानीको व्यवस्था गर्ने पनि उनले बताइन्।  

‘मतदाताको शिर निहुरिन दिन्नँ,’ उनले भनिन्। सिंहले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन्। उनले गठबन्धनका सबै उम्मेदवारले जिते भने काम गर्न अझ सजिलो हुने बताइन्। र, वडा सदस्यदेखि मेयरसम्म गठबन्धनकै उम्मेदवारलाई जिताउन आग्रह गरिन्।

प्रकाशित: २३ वैशाख २०७९ १०:०२ शुक्रबार