राजनीति

मेयरमा ‘ह्याट्रिक’ गर्लान् त केशव स्थापितले?

करिब अढाई दशकअघि २०५४ का स्थापित मेयर ‘केशव स्थापित’ फेरि काठमाडौं महानगरको मेयरकै उम्मेदवार बनेका छन्। त्यसो त उनले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल २०६१ मा पनि केही समयका लागि काठमाडौं महानगर प्रमुखकै जिम्मेवारी सम्हालेका थिए। हो, यीनै स्थापितलाई नेकपा (एमाले)ले फेरि पनि काठमाडौंको मेयरमा अघि सारेको छ।  

त्यतिबेलाका महानगरका समस्या र अहिलेका समस्यामा तात्विक फरक नहोलान्। तर ती समस्याहरू समाधान गर्ने चुनौतीहरू भने पहिलेभन्दा अहिले धेरै थपिएका छन्। स्थापित नयाँ र पुराना चुनौतीहरुको सामनामा आफू खरो उत्रिने दाबी गर्छन्।  

‘मसँग महानगरको भिजन छ। मसँग सपना छ। विगतका कमजोरीबाट पाठ सिकेर अघि बढछु,’ स्थापित भन्छन्, ‘म टेष्टेड मेयर हुँ। नगरबासीले मेरो काम देखेका छन्। त्यसैले गठबन्धन दलकै कार्यकर्ताहरूले पनि मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ।’  

काठमाडौं नगरपालिकाबाट महानगरपालिकामा रुपान्तरित भएपछि स्थापित यहाँका दोस्राे मेयर भएका थिए। महानगरपालिकाका पहिलो मेयर बनेका पीएल सिंहको कार्यकाल नीति निर्माण र वित्तीय व्यवस्थापनमै सीमित थियो। त्यसपछि चुनिएका स्थापितले काठमाडौं बनाउने प्रयास गरे। काठमाडौंका साँघुरा ठाउँहरू भत्काएर फराकिलो पार्ने काम गरे। माइतीघरका घर टहरा भत्काएर मण्डला बनाए।  

स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित समेत भए। यस कारण उनले यसअघि महानगरको दुईपटकसम्म कार्यकाल सम्हालि सकेका छन्।

तल्कालीन समयमा स्थानीय निकाय भएका कारण आफूसँग क्षेत्राधिकार पनि सीमित रहेको उनी बताउँछन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा सामान्य काम भए पनि फोहोरमैला तह लगाउन नसकेको स्थापितको गुनासो छ।  

तत्कालीन कानुनी व्यवस्थाले गर्दा काम गर्न नसकेको स्थापित बताउँछन्। ‘एउटा रुख काट्न मैले राजदरवारबाट स्वीकृत लिनुपर्थ्याे। अहिले त स्थनीय सरकार छ,’ उनी भन्छन्, ‘पहिलेको मेयर र अहिलेको मेयरमा हजार गुणा फरक छ। हिजो स्रोत नै थिए। सबै कुरा माथिबाट बक्साउनु पर्ने, स्थानीय विकास मन्त्रालय जानु पर्ने। मन्त्रीले फाइल लुकाए खत्तम। त्यसको अन्त्य भएको कारण यो नयाँ सुरुवात भएको छ।’ मेयरमा विजयी भए नागरिकको गुनासोका आधारमा सम्बोधन गर्ने उनको योजना छ। काठमाडौं महानगरपालिकाको आन्तरिक संगठन सुधार गरी विकास निर्माणका काममा लाग्ने उनले बताए।  

मुलुक संघीय संरचनामा गएपछि २०७४ सालमा स्थानीय तहको पहिलो चुनाव भयो। त्यस समयमा समेत काठमाडौं महानगरको नेतृत्वमा आउन खोजेका स्थापितलाई एमालेले टिकट दिएन। अहिलेका मेयर विद्यासुन्दर शाक्यले टिकट पाए। शाक्यलाई जिताउन स्थापितकै महत्वपूर्ण भूमिका थियो।

महानगरमा आफ्नो प्रतिस्पर्धीको रुपमा कुनै उम्मेदवार नभएको उनी बताउँछन्। आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसको उम्मेदवार अहिले मैदानमै नआएको बताए। अधिकांस वडामा कांग्रेसको जग भत्किएका कारण जितको प्रवल सम्भावना भएको उनको बुझाइ छ। स्वतन्त्र उम्मेदवारको त सांगठनिक संरचना नै नभएका कारण प्रतिस्पर्धी पनि भन्न नमिल्ने उनको विश्लेषण छ।  

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित पटकपटक विवादमा तानिइरहन्छन्। आफू विवादमा आउने नभइ आफूलाई विवादमा ल्याइने गरेको उनको बुझाइ छ। ‘नयाँ नयाँ विचार ल्याए बुझ्दैनन्। कुरा नबुझ्दासम्म केही समयसम्म विवाद भइरहन्छ,’ उनले भने।

२०७४ सालमै भएको बागमती प्रदेश सभामा निर्वाचित स्थापित मन्त्री समेत भए। तर, मुख्यमन्त्रीसँग उनको सम्बन्ध कहिल्यै जमेन। प्रदेश क्याबिनेटमा स्थापित र एमालेकै मुख्यमन्त्री डोरमणी पौडेलका विवाद छरपस्ट भइरहे। विवादका बीच स्थापितलाई यौन दुर्व्यवहारको आरोप समेत लाग्यो। र, उनले राजीनामा दिए। चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।  

सोही आरोपले उनलाई पुनः यसपटक पनि घोचेको छ। यो विपक्षीको चुनावी अजेण्डा भएको उनी बताउँछन्। ‘यो आरोप नै होइन। चुनावमा यस्तो भइरहन्छ। पहिला पनि चुनावका बेला यस्तो भयो। अरु बेला त यस्तो आरोप लागेन,’ उनी अगाडि भन्छन्,‘यो सम्बन्धित महिला र सिर्जना सिंहले एकै ठाउँमा वार्तालाभ गरेको देखेँ। उम्मेदवारी तय भएको छैन। भोलिपल्टै यो सुरु भयो। मेरो सन्देश कतैबाट हो कि भन्ने लाग्छ।’

यी आरोपले चुनावी नतिजामा केही फरक नपर्ने उनको विश्वास छ। ‘केही फरक पर्दैन उहाँको व्यक्तित्वको अवसान भयो। मेरो छोरी उमेरको हो। मेरो जेठो छोरोभन्दा नि कम उमेरको होला। मैले चिनेको साथीको छोरी हो,’ उनी भन्छन्, ‘म विपासना गर्ने मान्छे मेरो बोलिले अरुलाई आघात पुर्‍याउला दुःख भयो कि भन्ने मान्छे। मैले एउटा कुरा प्रकाशन गर्नु त पर्‍यो नि म यो हुँ भन्न त बाध्यकारी भयो।’

प्रकाशित: २३ वैशाख २०७९ ०७:३६ शुक्रबार

केशव स्थापित स्थानीय निर्वाचन २०७९