राजनीति

जीतपुरसिमरा उपमहानगरः गढ बचाउने र भत्काउनेको प्रतिस्पर्धा

एमालेका उम्मेदवार र गठबन्धनका उम्मेदवार।

२०७४ सालमा भएको स्थानीय तहको चुनावी परिणामलाई नै आधार मान्ने हो भने एकपटक जीतपुरसिमरा उपमहानगरपालिकाको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो अवस्थामा छ।

बलियो रहेको एमालेका उम्मेदवारलाई हराउनकै लागि सत्ता गठबन्धनका उम्मेदवारहरु एकजुट भएर चुनावी मैदानमा उत्रिएका छन्।

केन्द्रमा पाँच दलीय गठबन्धनले टुंग्याएको मेयर, उपमेयरका उम्मेदवारहरुलाई विजयी गराउन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले जितपुरसिमराका जनताको घरदैलोमा पुगीरहेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेबाट सरस्वती चौधरी प्रमुखमा र भोला अधिकारी उपप्रमुखमा चुनावी मैदानमा उत्रिएका छन् भने गठबन्धनबाट राजन पौडेल प्रमुखमा र मेघा शाही उपप्रमुखमा चुनावी मैदानमा छन्।

एमालेका प्रमुख पदका उम्मेदवार सरस्वती चौधरी उपप्रमुखको कार्यभार सम्हाली सकेकी छिन् भने गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार राजन पौडेल २०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा मत ल्याउन सफल बनेका थिए।  

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका डा. कृष्ण पौडेल जीतपुरसिमरा उपमहानगरको मेयर चुनिएका थिए। उनले १४ हजार ८६५ मत पाएका थिए। २४ वटै वडामा रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेले ७ वटा वडामा अध्यक्ष जितेको थियो।

त्यस्तै नगरप्रमुखमा दोस्रो स्थानमा रहेका काँग्रेस उम्मेदवार कृष्णब्रत सिंहले पौडेलभन्दा २ हजार ८७० मत कम ल्याएका थिए भने सिंहले ११ हजार ९९५ मत पाएका थिए। यसैगरि, ५ वटा वडाका अध्यक्षहरुमा काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका थिए।

सबैभन्दा बढी १० वटा वडा जितेको माओवादीका नगरप्रमुखका उम्मेदवार राजन पौडेल ११ हजार २५१ मतसहित तेस्रो भएका थिए।

२०७४ सालमा गठबन्धनका साझेदार दलका उम्मेदवारहरुले पाएको मतलाई आधार मान्दा पनि अहिले गठबन्धनका उम्मेदवारहरु भारी देखिन्छन्। किनकि, अघिल्लो निर्वाचनमा सिङ्गो रहेको एमाले अहिले विभाजित भइसकेको छ।

गठबन्धन एमालेको किल्ला भत्काएर विरासत तोड्दै जीतपुरसिमरा उपमहानगरपालिकामा नयाँ अनुहारलाई प्रमुख बनाउन अग्रसर देखिएको छ।

गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल र नेपाली कांग्रेसका मेघा शाही उपप्रमुखको उम्मेदवार बनेर चुनावी मैदानमा छन्।

२०७४ सालमा एमाले एक्लै चुनावमा होमिँदा डा. कृष्ण पौडेल मेयरमा र हाल मेयरकी उम्मेदवार रहेकी सरस्वती चौधरी उपमेयरमा निर्वाचित भए। एक्लै उपमहानगरमा भारी रहेको एमालेको विरासत भत्काउने गरी गठबन्धन लागेको जीतपुरसिमरा नेपाली काँग्रेसका नगर सभापति छवी शर्माले दावी गरेका छन्।

मेयर र उपमेयरको बजेट नरहने गठबन्धनका उम्मेदवारको घोषणा

पहिला मेयर र उपमेयरको नाममा भागबन्डा हुँदै आएको बजेटमा अब मेयर र उपमेयरको नाममा भागबन्डा नहुने सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले घोषणा गरेका छन्।

बुधकार स्थानीय निर्वाचन–२०७९ संयुक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुखका उम्मेदवार राजन पौडेलले विगतमा बन्दै आएको मेयर–उपमेयर बजेट खारेज गरेर अब जनताको बजेट बनाउने प्रतिबद्धता गरेका छन्।

यसअघि प्रमुख/उपप्रमुखले भागबन्डामा आफूअन्तर्गत करोडौँ रुपैयाँ बजेट छुट्टाउने र आफू अनुकूल कार्यान्वयन गर्दै आएको बताउँदै पौडेलले सार्वजनिक जग्गा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर मालपोतले सार्वजनिक घोषणा गरेका जग्गाहरू नगरको हितमा प्रयोगमा ल्याउने बताए।  

बुधबार साँझ ५ दलीय संयुक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी निर्वाचित भएर जाँदै गर्दा सार्वजनिक जग्गा संरक्षणका लागि व्यवहारिक हिसाबले पहलकदमी लिइन्छ यसलाई कार्यान्वयन पनि गरिन्छ यसमा मेरो प्रतिबद्धता छ।’  

जीतपुरसिमरा उपमहानगरभित्र मात्रै सयौँ बिगाहा सार्वजनिक जग्गा भू–माफियाको कब्जामा छ। विगतमा मालपोत कार्यालय सिमराले सार्वजनिक घोषणा गरिसकेका जग्गाहरू उपमहानगरले संरक्षणमा चासो नदेखाउँदा ती जग्गाहरू अलपत्र अवस्थामा छन्।  

निर्वाचन केन्द्रित संयुक्त गठबन्धनको प्रतिबद्धता पत्रमा उपमहानगरले चालु आर्थिक वर्षमा बढाएको हजार प्रतिशत सम्पत्ति कर खारेज गर्ने, उपमहानगर भित्र २ सय शैय्याको श्रम अस्पताल निर्माण गर्ने शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटक प्रवर्द्धनका लागि समन्वय गर्ने, उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने जवाफदेहिता, पारदर्शितालाई कडाइका साथ कार्यान्वयन गरी कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार र सम्मानको व्यवस्था गर्ने लगायतका विषय घोषणा पत्रमा उल्लेख गरिएको छ। गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार मेघा शाहीले उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएकी छिन्।

प्रकाशित: २२ वैशाख २०७९ १२:३४ बिहीबार