राजनीति

नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

नेपालगन्जको आसन्न चुनावी परिदृश्यका सन्दर्भमा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘अहिले त्रिपक्षीय देखिए पनि २५, २६ गतेपछि नेपालगन्जको चुनावी प्रतिस्पर्धाको परिदृश्य द्वीपक्षीय हुन्छ।’ उनले ती दुई पक्ष कुन् हुन् भन्ने खुलाउन चाहेनन्।

राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्य पनि नेपालगन्जका मतदाताको ‘मुड’ चुनावको एकदुई दिनअघि मात्रै प्रष्ट हुने गरेको बताउँछन्। राजनीतिक विश्लेषक एवम् नेपालगन्जका पूर्वमेयर विजय गुप्ता भन्छन्, ‘नेपालगन्जको चुनावी पूर्वानुमान गर्न गाह्रो हुन्छ। एकदुई दिनअघि र रातारात पनि परिवर्तन हुनसक्छ।’

वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ। राजनीतिक विश्लेषकहरूका यी भनाइले नेपालगन्जको चुनावी परिदृश्यको अनुमान लगाउन त्यति सजिलो छैन भन्ने बुझ्न सकिन्छ। अर्काेतर्फ नेपालगन्जको चुनावका अन्य जटिल पाटातर्फ पनि उनीहरूको संकेतका रूपमा यसलाई बुझ्न सकिन्छ।  माथि उल्लेखित राजनीतिक विश्लेषकहरू यस कुरामा चाहिँ सहमत छन् कि नेपालगन्जमा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ।

त्यो प्रतिस्पर्धामा सत्ता गठबन्धन, नेकपा एमाले र राप्रपाका उम्मेदवारहरू पहिलो पंक्तिमा आउन सक्छन्। यो आँकलनका पछाडि गएका निर्वाचनमा दलहरूले पाएको मत र उनीहरूको संगठनको मजबुती प्रमुख दुई आधार हुन् भने गठबन्धन अर्काे आधार हो। अर्काे प्रवृत्ति चाहिँ यसअघिका निर्वाचनले नै प्रष्ट्याएका छन् कि नेपालगन्जमा पार्टीको संगठनभन्दा व्यक्तिको छवि वा उसको प्रभावले बढी अर्थ राख्दछ। अर्थात् यहाँका मतदाता व्यक्ति हेरेर मत दिन्छन्। गएको निर्वाचनमा मेयरमा धवलशमशेर राणा र उपप्रमुखमा कांग्रेसकी उमा थापा मगरले चुनाव जिते।

राणाले १२ हजार पाँच सय १५ मत पाए भने थापा मगरले १० हजार सात सय ३३ मत पाइन्। तर कांग्रेसका मेयरका उम्मेदवार सुरेशकुमार कनोडियाले थापामगरको भन्दा झन्डै २ हजार कम अर्थात् ८ हजार ७ सय ३० मत पाए। माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १ सय ९८ मत मात्र पाए। चौथो भएको एमालेका शमसुद्दीन सिद्धिकीले ६ हजार ९ सय ६५ मत पाएका थिए। २३ वडा रहेको नेपालगन्जमा आठ वडामा कांग्रेस, ६ वडामा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रले तीन÷तीन वडा जितेको थियो।

यसपटक मेयरका उम्मेदवारमध्ये व्यक्तिकै आधारमा कसलाई रोज्ने भन्नेमा पनि मतदातालाई सकस पर्ने देखिएको छ। पिटर भन्छन्, ‘यसपटक पार्टी र व्यक्तिमा फरक छुट्याउन गाह्रो छ। सबैलाई उस्तै फ्रेममा देख्छु ।’ पिटरले नेपालगन्जको चुनावी परिणाममा यहाँका सामाजिक र क्षेत्रगत संगठनको झुकाव, धार्मिक र जातीय झुकावले पनि प्रभाव पार्ने गरेको बताए।

नेपालगन्जमा मुस्लिम समुदायको भोट करिब २५ देखि २७ प्रतिशत, मधेसी भोट ३५ देखि ४० प्रतिशत र पहाडी तथा अन्य भोट ३० देखि ३५ प्रतिशत छ। अहिले मुख्य प्रतिस्पर्धी मानिएका तीनजना मेयरका उम्मेदवार सामाजिक र क्षेत्रगत झुकावलाई एकातिर राख्ने हो एकै तप्काको प्रतिनिधि भएको पिटरको बुझाइ छ।

पिटर फरक देखिनका लागि उम्मेदवारले एजेण्डा र घोषणामा सिर्जनशीलता देखाउने ठाउँ रहे पनि त्यसलाई पनि प्रयोग गर्न नसकेको बताउँछन्। भन्छन्, ‘उनीहरूका चुनावी एजेण्डाहरूमा नयाँ केही छैन। फरक पनि केही छैन ।

गठबन्धनको सवल पक्ष  

यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चासहित पाँचवटा दलको गठबन्धन छ। यस कारण कांग्रेस यसपटक नेपालगन्जको नेतृत्व आफूले पाउनेमा ढुक्क छ। प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले असन्तुष्टि राख्ने नेताहरूलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो। उक्त उम्मेदवारी फिर्ता भइसकेको छ।

अन्य दलहरूमा बाहिर देखिने गरी असन्तुष्टि छैन। सुरुमा असन्तुष्टि जनाएको जसपा अहिले मेयर र उपमेयरका उम्मेदवारलाई भोट माग्दै हिँडेको छ। गठबन्धनबाट मेयरमा उम्मेदवार रहेका प्रशान्त बिस्ट र उपमेयरमा उम्मेदवार रहेका जसपाका कमरुद्दीन राई सँगै भोट माग्दै हिँडेका छन्। राई भन्छन्, ‘यसपटक हामी दुई भाइको जित सुनिश्चित छ। हामी भारी मतान्तरले जित्छौँ ।’

रेग्मी गठबन्धनको मत एक ठाउँमा आउने हो भने यसपटकको नेतृत्व प्रशान्तले पाउने सम्भावना बढी रहेको बताउँछन्। तर, गठबन्धनभित्रको मुख्य असन्तुष्ट दल माओवादी केन्द्रले इमान्दारिता देखाउनुपर्नेे उनले बताए। गठबन्धनको अर्काे सवल पक्ष हो संगठनका हिसाबले मजबुत माओवादी केन्द्र र जसपाको पनि साथ। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा जसपाका मोहम्मद इस्तियाक राईले जितेको निर्वाचन क्षेत्र नम्बर २ को अधिकांश मत नेपालगन्जकै हो। उनकै पार्टीका कमरुद्दिन राई अहिले उपमेयरमा गठबन्धन गरेर मैदानमा छन्।

गठबन्धनका चुनौती  

नेपालगन्जमा गठबन्धन मुख्य दुई पद प्रमुख र उपप्रमुखमा मात्रै छ। वडा तहमा मित्रवत् प्रतिस्पर्धा भनेर छुट्टाछुट्टै प्रतिस्पर्धामा छ दलहरू। त्यस कारण गठबन्धनको मुख्य चुनौती माओवादी केन्द्रको असन्तुष्ट मतलाई आफ्ना पक्षमा ल्याउनु रहेको छ। माओवादी केन्द्रका नेता आइपि खरेल माओवादी केन्द्रले संस्थागत रूपमा गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको बताउँछन्। तर मेयर, उपमेयरका उम्मेदवारले कस्तो एटिच्युडु देखाउँछन् त्यसमा मत भर पर्ने उनले खुलाए। ‘वडामा उम्मेदवारी दिएका हाम्रा साथीहरूले मेयर उपमेयरका उम्मेदवारहरू हामीकहाँ भोट माग्नै आएनन् भन्नुभएको छ। उहाँहरूले हाम्रा साथीहरूप्रति कतिको आत्मियता देखाउनुहुन्छ त्यसमा भर पर्छ,’ खरेलले भने।

अर्काे चुनौती नेपालगन्जमा सबैभन्दा ठूलो संगठन भनिएको नेपाली कांग्रेसले एक भएर आफ्नो पार्टीका उम्मेदवारलाई मत नदिने प्रवृत्ति रहेको छ। मेयरका उम्मेदवार बिस्ट भने यसपटक पार्टीमा अन्तर्घात नहुने विश्वासमा छन्। ‘पार्टीले यसपटक अवसर पाएको छ। यो अवसर हाम्रा लागि प्रतिष्ठा र नेपालगन्जको विकासमा अवसरको विषय पनि हो। त्यस कारण असन्तुष्टि भएमा पार्टीभित्रै मिलाउनेमा सबै एकमत हुनुहुन्छ,’ बिस्ट भन्छन्।

एमालेका सवल पक्ष  

अरू दलहरू गठबन्धनमा लागेर आफ्नो पार्टीलाई हराउने रणनीतिमा लागेपछि अहिले नेकपा एमाले एकढिक्का भएको बताइएको छ। यद्यपि टिकटको दाबेदारीका क्रममा केही असन्तुष्टिहरू देखिएका थिए। तर, एमाले बाँकेका सचिव रत्न खत्री अहिले एमालेमा इख पैदा भएको बताउँछन्। ‘एमालेले जहिले पनि इख लिएपछि प्रगति गरेको छ। यसपटक पनि एमालेलाई हराउन चौतर्फी घेराबन्दी गरिएपछि कार्यकर्तामा इख पैदा भएको छ। यतिबेला हामी जस्तोसुकै गठबन्धनलाई पनि परास्त गर्न सक्छाँै भन्ने मनोबलका साथ अघि बढेका छौं।’

एमाले नेताहरूले अहिले पशुपतिदयाल मिश्रको पार्टीमा प्रवेशपछि मधेसी समुदायमा प्रभाव बढेको बताउने गरेका छन्। खत्री भन्छन्, ‘हामीले अहिले २०७४ कोभन्दा राम्रो जनमत देखेका छौं ।’ मेयरका उम्मेदवार मिश्र पनि भन्छन्, ‘हामीले प्रष्ट मतका साथ जित्छौं। जनताले हाम्रो अजेन्डा मन पराएका छन्। पाको र अनुभवी उम्मेदवार भएकाले जनता सकारात्मक छन्।’

एमालेका चुनौती  

नेपालगन्जमा एमालेको पहिलो चुनौती गठबन्धन नै हो। सबै ठूला दलहरू एकातर्फि हुँदा एमालेलाई जनमत आफ्नो पक्षमा पार्न सकस नै छ। तर मेयरका उम्मेदवार मिश्र नेपालगन्जमा गठबन्धनको प्रतिफल सुखद नहुने गरेको बताउँछन्। ‘नेपालगन्जमा गठबन्धनको परिणाम सुखद हुँदैन। त्यसको अनुभव म आफैँले भोगेको छु,’ मिश्रले भने। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट एक्लै चुनाव लडेका मोहम्मद इश्तियाक राई २१ हजार ५ सय २५ मत ल्याई विजयी हुँदा एमाले माओवादीको वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ६ सय ४१ मत ल्याएका थिए। यता लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मात्रै मत पाएका थिए।

एमालेको अर्काे चुनौती अघिल्लो निर्वाचनमा एमालेबाट ६ हजारभन्दा बढी मत ल्याएका समसुद्दीन सिद्दीकी हुन्। उनी अहिले नेकपा एसका छन्। जो गठबन्धनभित्रको दल हो। अर्काेतिर पशुपति दयाल मिश्रको पक्षमा जानसक्ने मत तुलनात्मकरूपमा बढी काटिने सम्भावना छ। त्यो सबैभन्दा बढी नन्दलाल वैश्यले काट्न सक्ने सम्भावना छ। नेताहरूले पार्टीमा असन्तुष्टि नभएको बताए पनि राजनीतिक विश्लेषक आचार्य भने कुनै दल विशेषभन्दा पनि सबै दलभित्र असन्तुष्टि रहेको बताउँछन्। ‘टिकट वितरणमा सबै दलभित्र असन्तुष्टि छ। त्यस असन्तुष्टिको व्यवस्थापन सबैभन्दा राम्ररी गर्नसक्नेले अवसर पाउन सक्छ,’ उनी भन्छन्।

राप्रपाका सवल पक्ष  

राप्रपाको सवल पक्ष अहिलेका लागि धवलशमशेरको लोकप्रियतालाई नै मानिएको छ। संगठन बलियो नभए पनि अघिल्लो निर्वाचनमा धवलशमशेर ठूलो संगठन भएका अन्य दलका उम्मेदवारलाई हराएर मेयर हुन सफल भएका थिए। यसपटक उनले आफू मेयरमा नतेहेरिने बताउँदै मैदान खाली गरिदिएका थिए। उक्त खाली स्थानमा बलियो दाबेदारको खोजी गरिरहेकै बेला माओवादी केन्द्रबाट असन्तुष्ट भएर राप्रपामा प्रवेश गरे नन्दलाल वैश्य। वैश्यलाई जिताउने रणनीतिमा अहिले धवलशमशेर राणा खटिएर लागेका छन्। वैश्य भन्छन्, ‘अहिले राप्रपामा लहर चलेको छ। मतदाताहरू आकर्षित भएका छन्। धवलशमशेरले गरेको काम देखेर पनि हामीलाई पत्याउँछन्। यसका साथै म पहिले रहेको पार्टीका धेरै मतहरू पनि मैले पाउँछु।’

राप्रपाका चुनौती  

राप्रपा अहिले फुटेको छ। राप्रपा नेपालको नाममा अर्काे पार्टी चुनावी मैदानमा छ। पहिलो चुनौती राप्रपाको स्थायी भोटहरू तान्नु नै रहनेछ। अर्काे चुनौती भनेको अघिल्लोपटक धवलशमशेरले पाएको मत राप्रपाले पाएको मत होइन भन्ने आमा बुझाई छ। यसपटक नन्दलाललाई पनि धवलशमशेरको मत प्राप्त गर्नु चुनौती छ।

अर्काे चुनौती भर्खरै पार्टीमा आएका वैश्यलाई मेयर बनाइएको विषयमा पार्टीभित्र रहेको असन्तुष्टिलाई साम्य पार्नु चुनौती छ। मेयरको आकांक्षी रहेका नेता गौरव चन्द अहिले राप्रपा एक ढिक्का भइसकेको र असन्तुष्टिहरू साम्य भइसकेको बताउँछन्। ‘सुरुमा सबैको दाबी हुने नै भयो। अहिले अब उहाँ बलियो उम्मेदवारको रूपमा अघि आएपछि हामी सबै पार्टीलाई जिताउन लागेका छौं,’ चन्दले भने।

प्रकाशित: २१ वैशाख २०७९ ०५:४० बुधबार

वरिष्ठ साहित्यकार सनत रेग्मी माओवादी केन्द्र