राजनीति

चुनाव प्रचारमा डिजिटल माध्यममा जोड

बागबजारकी सम्झना खड्गी मंगलवार काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको घरदैलो प्रचार कार्यक्रममा सरिक थिइन्। उनी एमालेको पुरानो कार्यकर्ता भएकोले सबै तहका थुप्रै निर्वाचनको प्रचारमा सरिक हुँदै आएकी छन्। यो कारण पनि उनले चुनाव प्रचारका थुप्रै अनुभव बटुलेकी छिन्।

यसपालिको निर्वाचन प्रचारमा भने उनको फरक अनुभव छ। पहिला निर्वाचन प्रचारका लागि उम्मेदवारका तस्विर सहितका ठूला पर्चा, तुल, पोस्टर टाँगिन्थे।महिनादिनसम्म जनताको घर–घरमा उम्मेदवारको बारेमा पर्चा, पम्पलेट लिएर पुग्थे। यसपालिको प्रचारमा धेरैै कुरा फैलिएको छैन। हातमा पर्चा, पम्पलेट छैन, बजारमा तुल र ठूला पोस्टर छैन। सकै घरमा मेयर पुग्न पाएका छैनन्। यसपालि प्रचार गर्ने दिन पनि थोरै मात्र भयो। सबैतिर पुग्न सम्भव भएन, तै पनि घरदैलो कार्यक्रम जारी छ।

नेपाली कांगे्रसकी बागमती प्रदेश सहमहामन्त्री जीवन डंगोलको अनुभव पनि पहिलेको भन्दा अहिलको प्रचारमा धेरै परिवर्तन भएको अनुभव गरेकी छिन्। उनी काठमाडौं महानगरपालिकाको मेयर सिर्जना सिंहको प्रचारमा दैनिक जुटेकी छिन्। यस पालि निर्वाचनको आयोगको आचार संहिताले हरेक घरमा पुग्ने गरी घरदैलोमा पुग्न सम्भव भएन।

यो सम्भव नभएपछि कांगे्रसले अर्को नीति अनपाएको छ, त्यो हो हरेक टोल समिति रहेकको घरमा पुगेर आफ्नो उम्मेदवारको बारेमा जानकारी दिने। यतिले मात्र नपुने देखेपछि यो निर्वाचनमा नेपाली कांगे्रसले आफ्नो उम्मेदवारको घोषणापत्र र उम्मेदवारको बारेमा जानकारी दिन फेसबुक, ट्विटर, युट्युब र अनलाइन, टिकटकको सहारा लिएको डंगोलले बताइन्। ‘फेसबुक, ट्विटर, टिकटक, युट्युबबाट उम्मेदवारको प्रचार गरेका छौं, सीमाभित्र रहेर प्रचार गरिरहेका छौं,’ उनले भनिन्।

डिजिटल मिडियामार्फत नै कांगे्रसकी उम्मेदवार सिहं छ भन्ने कुरा सवै मतदातालाई जानकारी दिन सफल भएको उनले बताइन्। यो वाहेक अन्य रणनीतिवाट प्रत्येक वार्डमा घर–घरमा उम्मेदवार पुग्न सफल भएको उनले बताइन्।‘ नदेखिने भेटघाटहरू पनि परिचालन गरिरहेका छौं, त्यो सबै कुरा भन्न मिल्दैन,’ उनले भनिन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ को प्रचारमा खटिएका नेपाली कांगे्रस बागमती प्रदेश सदस्य राजु खरेल यसपालि नेपाली कांगे्रसले उम्मेदवारको परिचय र अजेन्डासहितको पर्चा बोकेर प्रत्येक वडाका टोल समितिमार्फत मतदाताको घरदैलोमा पुगेका छन्।

यो उपायले मेयर पुग्न नसकेको ठाउँमा उनीहरूको जानकारी दिन सहज भएको खरेलले बताए। ‘यो वडामा १० वटा टोल समिति छ। यो समिति मतदाताको घर–घरमा पुगेको छ,’ उनले भने। कांगे्रसेका १४औं महाधिवेशनले टोल समिति निर्माण गरेपछि प्रचारको लागि नयाँ शैली बनेको र यो प्रभावकारी रहेको खरेलले बताए।

यी नयाँ उपायको साथै नेकपा एमालेकै शैलीमा फेसबुक, टिकटकमार्फत व्यापक प्रचार गरेको खरेलले बताए। ‘अघिल्लो चुनावमा भन्दा यस पालि सामाजिक सञ्जालको प्रयोग कम भएको थियो, यसपालि धेरै छ,’ उनले भने।

निर्वाचन आयोगको आचार संहिताभित्र रहेर एमालेले यस पालिको निर्वाचनमा डिजिटल मिडियाको प्रयोग गरेको नेकपा एमाले प्रचार विभागका सहइन्चार्ज विष्णु रिजालले बताए।

चुनावको अजेन्डा मतदातासम्म पुर्‍याउन पार्टीको पेजमार्फत दैनिक कम्तीमा दुईवटा फेसबुक लाइभमा जाने गरेको, टिकटक, ट्विटर र फेसबुकमार्फत उम्मेदवार र तिनका अजेन्डाका बारेमा जानकारी दिने गरेको सहइन्चार्ज रिजालले बताए। ‘अहिलेको मतदाताको परिवार कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा जोडिएको हुनाले प्रचाारको माध्यम एमालेले सामाजिक सञ्जाललाई बनाएको छ,’ उनले भने।

इन्टरनेट र सामाजिक सञ्जालको पहुँच नभएको दुर्गम ठाउँहरूमा उम्मेदवार नै घरदैलोमा पुगेको रिजालले बताए। पर्चा, ब्यानरको प्रयोग गर्न नहुने आयोगको आचार संहिताले प्रचार खर्चिलो नबनेको रिजाल बताउँछन्। ‘वाल पेन्टिङ, पर्चा, पम्पलेटभन्दा सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रचार कम खर्चिलो पनि छ,’ उनले भने।

एमालेको आधाकारिक फेसबुकको ३ लाख ५२ हजार फ्लोअर रहेको र त्यो पेज हेरेपछि धेरैवाट प्रतिक्रिया समेत पाएकोले प्रचारमा सामाजिक सञ्जाल प्रभावकारी बनेको अनुभव रिजालले गरेका छन्। यी डिजिटल मिडियाको प्रचारअघि नै एमालेले प्रदेश, जिल्ला र स्थानीय तहमा भेला तथा प्रशिक्षण सम्पन्न गरिसकेको उनले जानकारी दिए।

पुरानै शैलीको घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको नेपाल मजदुर किसान पार्टीले यसपटक भने डिजिटल मिडियाको सहारा लिएको स्वीकार गरेको छ। नेपाल मजदुर किसान पाटीका केन्द्रीय सदस्य सरोज गोसाइँका अनुसार यसपालि माइकिङ, पर्चा, पम्लेट, ब्यानर जस्ता सामग्री प्रचार गर्न नपाएपछि प्रचारको केही नयाँ शैली अपनाएको बताउँछन्।

प्रकाशित: २१ वैशाख २०७९ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App