राजनीति

काँग्रेस ताप्लेजुङको अनुशासन समितिद्वारा २२ जनालाई पार्टीबाट निष्कासन

नेपाली काँग्रेस ताप्लेजुङको अनुशासन समितिले स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही(बागी) उम्मेदवारी दिएको भन्दै एक महाधिवेशन प्रतिनिधिसहित २२ जनालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा महाधिवेशन प्रतिनिधि टिकेन्द्र नेपालीसहित २२ जना रहेका छन्। जिल्ला अनुशासन समिति संयोजक एवम् काँग्रेस जिल्ला सचिव नन्दकुमार ओझाद्वारा हस्ताक्षरित पत्रमा केन्द्रीय निर्देशन, काँग्रेसको विधि विधान, नियमावली र निर्णयको उल्लंघन गरेको भन्दै काँग्रेसको विधान २०१७ को धारा ३४(४)को‘क’ बमोजिम आ–आफ्नो जिम्मेवारी पद र काँग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो।

पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङले पार्टी निर्देशन र विधान विपरीत जाने उपर पार्टी कारबाही हुने प्रणालीलाई पार्टीले विधिबद्ध गरेको जानकारी दिए।

प्रकाशित: १९ वैशाख २०७९ १५:३४ सोमबार