राजनीति

मैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छु कारबाही गरे हुन्छः बासुदेव घिमिरे

निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै हिँडेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई खुला चुनौती दिएका छन्।

नगरप्रमुख घिमिरे र प्रवक्ता सुरेन्द्र श्रीले निर्वाचन आचारसंहिता विपरीत दिनहुँ चुनावी प्रचार प्रसारमा हिँडेपछि नगरपालिकाको कार्यसम्पादनमा समेत असर गरेको नगरपालिकाका कर्मचारी र सेवाग्राहीले बताएका छन्।

तिलोत्तमाको मेयर पदमा बहाल रहेकै अवस्थामा घिमिरे नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटि संयोजक बनेका छन्। एमालेका तर्फबाट तिलोत्तमाको मेयरका उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा उनी दिनहुँ खटिएका छन्।

एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आइतबार राती आयोजना गरेको पत्रकार सम्मेलनमा त उनले आफूले आचारसंहिता उल्लंघन गरेको र सके कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती समेत दिए। मेयर घिमिरेले सरकारका मन्त्रीहरुले नै आचारसंहिता उल्लघन गरेको भन्दै कारबाही गर्ने भए पहिले मन्त्रीबाट सुरु गर्नु पर्ने चुनौती आयोगलाई दिएका हुन्।

‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु’ तपाइहरुले (पत्रकारहरुले) लेख्दे हुन्छ र सके मलाइ कारबाही पनि गरे हुन्छ’ मेयर घिमिरेले भने। तिलोत्तमाको मेयर उम्मेदवार चापागाईंको घोषणा पत्र सार्वजनिक कार्यक्रमको अध्यक्षता नै मेयर घिमिरेले गरेका थिए।

सुरुदेखि चापागाइको चुनावी प्रचार गर्दै हिँडेका घिमिरेका सम्बन्धमा यसअघि पनी आचारसंहिता उल्लघंन गरेका खबरहरु बाहिरिएका थिए। पत्रकारहरुप्रति पनि रोष प्रकट गर्दै उनले विपक्षिहरुको मात्रै कुरा सुनेको आरोप पनि लगाए। ‘तपाईंहरुले विपक्षीहरुको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु’ उनले भने।

अहिले बजेट खर्च गर्ने अवस्था मात्रै नभएको भन्दै उनले मतदातालाई प्रभावित पार्ने गरी जुनसुकै काय्रक्रमको घोषणा गर्न सक्ने र त्यसमा कसैले केही गर्न नसक्ने पनि बताए। निकै दम्भका साथ लामो समय आफ्नो कार्यकालको बचाउ गरेका मेयर घिमिरेलले आफू देशमै लोकप्रिय र उत्कृष्ट नगर प्रमुख भएको दाबी गर्न भ्याए।

तिलोत्तमामा हाल देखिएको झण्डै ५० करोडको बेरुजुका सम्बन्धमा पनि त्यो सामान्य बिषय भएको बताए। ‘देशमा कुनै पनि नगरपालिकाले बेरुजु सून्य गराउन सकेका छैनन्। हाम्रोमा पनि बेरुजु छ र त्यो कुनै ठूलो विषय होइन’ मेयर घिमिरेले भने। अन्य पार्टीबाट तिलोत्तमाको मेयरका उम्मेदवार बनेका प्रतिष्पर्धीहरुलाई चुनाव जित्ने सपना नदेख्न पनि मेयर घिमिरेले चेतावनी पूर्ण शैलीमा आग्रह गरे।

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका छन्। आइतबारको कार्यक्रमको सञ्चालन श्रीले नै गरेका थिए। मेयर घिमिरेसंगै जनप्रतिनिधि तर्फको प्रवक्ता वहाल रहेकै अवस्थामा श्री नगरपालिकाको कार्यालयमा हैन एमालेका मेयरका उम्मेदवार चापागाईंको चुनावी प्रचारका कार्यक्रमहरुमा भेटिन्छन्।

प्रकाशित: १९ वैशाख २०७९ १०:२५ सोमबार

निर्वाचन आचारसंहिता तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे