एक वर्षअघिसम्म सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न स्थानीयतह चुनाव उपयोग गर्ने भएको छ। चुनाव उपयोग गर्न सो पार्टीले उदयपुरमा झण्डै दर्जन उम्मेदवार उठाएको छ।
नेकपाबाट १ गाउँपालिका प्रमुख, १ नगर उपप्रमुख, ३ नगर वडाध्यक्ष र २ गाउँ वडाध्यक्षमा उम्मेदवारी दिएको पार्टीले जनाएको छ। पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालका अनुसार उदयपुरगढी गाउँपालिकामा जीतबहादुर पुलामी मगरले अध्यक्षमा उम्मेदवारी दिएको नेकपाले सदरमुकामकै नगरपालिका त्रियुगामा रामकृष्ण सदालाई उपमेयरमा उम्मेदवारी हाल्न लगाएको छ।
त्यस्तै त्रियुगाकै ७ नं. वडामा मानबहादुर दनुवारले वडाध्यक्षमा उम्मेदवारी हालेका छन् भने कटारी नगरपालिका ४ मा पूर्णबहादुर कटुवालले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यसैगरी बेलका नगरपालिका मुकाम ९ नं. वडा रामपुरमा वडाध्यक्षका लागि मनकुमारी राई (रीता)ले उम्मेदवारी दिएकी छिन्। उदयपुरगढी गाउँपालिकामा थप २ वडाध्यक्षमा पनि नेकपाले उम्मेदवारी दिएको पौड्यालले बताए।
पार्टीबाट उठेका उम्मेदवारहरु सबै तत्कालीन माओवादी जनयुद्धबाट खारिएर आएका अगुवा नेता कार्यकर्ता छन्। उदयपुरगढीमा अध्यक्षका प्रत्यासी पुलामी जिल्ला सदस्य तथा गाउँ सेक्रेटरी हुन् भने त्रियुगा नगर उपप्रमुखका दावेदार सदा पुराना जनप्रतिनिधिसमेत हुन्। बेलका ९ की वडाध्यक्ष उम्मेदवार रीता जनयुद्धकालीन नेतृ हुन् भने त्रियुगा ७ का वडाध्यक्ष उम्मेदवार दनुवार जिल्ला सदस्य हुन्। कटारी ४ का वडाध्यक्ष उम्मेदवार कटुवाल जिल्ला सदस्य तथा पूर्णकालीन कार्यकर्ता हुन्।
यसैबीच विप्लव पार्टीका उम्मेदवारले जिल्लाभर एउटै चुनाव चिन्ह 'पुतली' रोजेको छ। निर्वाचन घोषणा भएपछि आयोगले काम थालिसकेको अवस्थामा पार्टी दर्ता गर्न नमिलेपछि स्वतन्त्रको हैसियतमा चुनावमा भाग लिन उसले स्वतन्त्रमा उम्मेदवारी दिएको हो। स्वतन्त्रमा उम्मेदवारी दिएका कारण उसले आधिकारिक चिन्ह नहुँदा पुतली लिएर चुनाव लड्न लागेको जनाएको छ। पार्टीले केहीलाई छाडेर अधिकतर उम्मेदवारहरु जित्ने दावी गरेको छ।
१० वर्षे जनयुद्धबाट समानान्तर सत्ता सम्हाल्दै तत्कालीन काँग्रेस एमालेका सत्ता विघटन गर्न सफल भएको नेकपा (माओवादी)मा विस्तृत शान्ति सम्झौतापछि किचलो सुरु भयो। त्यसबेला पार्टीबाट असन्तुष्ट हुँदै वरिष्ट नेता मोहन वैद्य (किरण)ले ०६९ असार २ गते नेकपा –माओवादी गठन गर्दा तत्कालीन डेपुटी कमाण्डर नेत्रविक्रम चन्द (विप्लव) उनीसँगै गए। गठन भएदेखि नै सो पार्टीभित्र पनि किचलो सुरु भयो। त्यसपछि विप्लवले ०६१ मंसिर ८ गते नेकपा माओवादी (विप्लव) नामको नयाँ पार्टी गठन गरेका थिए।
पार्टी गठनपछि भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीविरुद्ध देशभर जेहाद छेँड्न थालेको उनको पार्टीले एनसेल काण्ड र चुनावविरुद्ध ठूलठूला कारबाहीहरु गर्न थाल्यो। सो क्रममा एनसेलको करछली र भ्रष्टाचारीलाई कारबाहीजस्ता गतिविधि गरेपछि राज्यको नजरमा पर्दै गयो। एनसेल टावरमा बम विष्फोटमा निहत्था जनताको त्यान गएपछि पार्टीविरुद्ध आक्रामक रुपमा उत्रिएको राज्यले ०७४ साल मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावताका बिभिन्न ठाउँमा विद्युतीय धराप पड्काएपछि थप असहिस्णु बन्दै गयो।
यही क्रममा एमाले र माओवादीको एकीकरणपछि बनेको केपी ओली नेतृत्वको नेकपा सरकारले ०७५ मंसिर २८ गते पार्टीमाथि प्रतिबन्ध लगायो। प्रतिबन्धसँगै भूमिगत भएका नेता कार्यकर्ताको खोजी गर्दै पक्राउ र धरपकड कायम राखेको सरकारले ०७७ पुस ६ गते ओलीले संसद विघटन गरेपछि सरकारबाट वार्ता समिति गठन गरेर दोहोरो संबादको थालनी भयो। चरण चरणको वार्तापछि ओली सरकारले ०७७ फागुन २१ गते लगाएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्यो।
देशभर थुनामा रहेका नेता कार्यकर्तालाई बिनाशर्त छाड्नु पर्ने, झुटा मुद्दा खारेज हुनुपर्ने र शान्तिपूर्ण गतिविधि गर्न पार्टीलाई छुट हुनुपर्ने ३ बुँदे माग लिएर सफल भएको वार्तापछि प्रतिबन्ध फुकुवा भएसँगै विप्लवले वैज्ञानिक समाजवादको वकालत गर्दै संगठन विस्तार अभियान थालेको थियो। अभियानकै क्रममा नौला र जनमुखी कार्यक्रम गरेर जनताको मन जित्न खोजिरहेको पार्टीले आसन्न स्थनीयतह चुनावमा भाग लिने निर्णय गरे पनि एउटा पक्ष भने चुनाव वहिस्कारमा लागेको छ।
प्रकाशित: १८ वैशाख २०७९ १३:५४ आइतबार