राजनीति

चुनाव सम्बन्धी भिडियो प्रचार गर्नेलाई पुरस्कार

चुनाव सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ।

चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी ५० लाख, ३० लाख र २० लाख दर्शक पुर्‍याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने भएको हो।

पचास लाख वा सो भन्दामाथि दर्शक पुर्‍याउनेलाई पचास हजार, तीस लाख वा सो भन्दामाथि दर्शक पुर्‍याउनेलाई तीस हजार र बीस लाख वा सो भन्दामाथि दर्शक पुर्‍याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

पालिका चुनावका लागि आयोगले तयार पारेका सन्देशमूलक भिडियो आयोगको ट्विटर, युट्युब, फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालमा राखिएको आयोगले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७९ ०५:५८ आइतबार

चुनाव सम्बन्धी सन्देशमूलक भिडियो निर्वाचन आयोग