राजनीति

स्वतन्त्र उम्मेदवार बढी हुँदा चिह्न अपुग

विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्न सहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ। केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्र अनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ।

जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ। शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको संख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो।

आयोग स्रोतले भन्यो, ‘केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ। त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ। अपुग हुने पालिकाको संख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं।’ उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ।

महानगरमा उम्मेदवारको मात्र चिह्न

निर्वाचन आयोगले काठमाडौंसहित ६ महानगरपालिका र भक्तपुरका चार पालिकामा उम्मेदबारको मात्र चिह्न रहने गरी मतपत्र छाप्ने तयारी गरेको छ। काठमाडौंसहित १० पालिकामा जति उम्मेदवार छन् त्यतिमात्र चिह्न हुने गरी मतपत्र छाप्ने आयोगको तयारी रहेको स्रोतको दाबी छ।

‘वडाअनुसार नै फरकफरक मतपत्र छाप्ने अवस्था त छैन,’ स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छन् तीमध्ये सबैभन्दा धेरै राजनीतिक दल र उम्मेदवार भएको वडालाई आधार बनाएर मतपत्र छाप्नेछौं।’ ठूला दलहरूबाटै प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवारी परेको छैन भने जुनमा परेको छ त्यसमा मात्र पार्टीको चिह्न राख्ने आयोगको तयारी रहेको भन्दै स्रोतले थप्यो, ‘अहिलेसम्म आयोगको निर्णय र तयारी यही छ।’

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले ८७ प्रकारका मतपत्र डिजाइन गरी पठाइसकेको छ। ७७ जिल्लाका लागि छुट्टाछुट्टै ७७ किसिमकै मतपत्र छापेको आयोगले नेपाली सेनाको सहयोगमा दुई दर्जनभन्दा बढी जिल्लामा ढुवानीको काम समेत सकेको छ।

चार हजारले गरे उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट करिब चार हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार शुक्रबार देशभरबाट करिब चार हजारले उम्मेदवारी फिर्ता लिएका छन्।

‘देशभरबाट चार हजार हाराहारीमा उम्मेदवारी फिर्ता भएको जानकारी आयोगले प्राप्त गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘देशभरबाट प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यका उम्मेदवारको उम्मेदवारी फिर्ता लिने विवरण आयोगमा आउने क्रम जारी छ।’

प्रकाशित: १७ वैशाख २०७९ ०६:३२ शनिबार

निर्वाचन आयोग स्वतन्त्र उम्मेदवारी चिह्न अपुग