राजनीति

पोखरामा पछि हटे कांग्रेसका दुई बागी

पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।

उनीहरूले शुक्रबार अपराह्न सवा ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिएका दुवैले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

यसअघि उनीहरूले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए। गठबन्धन गर्दा पोखरा महानगर नेकपा एकीकृत समाजवादीको पोल्टामा गएको थियो। समाजवादीले पोखराको मेयर पदमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ।

पोखराको मेयर पद नपाएपछि रुष्ट बनेका कांग्रेस नेताहरू ऋषिराम सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका थिए। तीमध्ये कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन्। उम्मेदवारी फिर्ता लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै ऋषिराम सापकोटाले आफ्नो कारणले गठबन्धन धरापमा पर्न लागेपछि उम्मेदवारी फिर्ता लिएको बताए।

उम्मेदवारी दिँदै गर्दा सापकोटाले कांग्रेसलाई बचाउन आफूले विद्रोह गरेर उम्मेदवारी दिएको बताएका थिए तर शुक्रबार उम्मेदवारी फिर्ता गर्दै उनले भने, ‘मैले सांकेतिक विद्रोह स्वरूप उम्मेदवारी दिएको थिएँ तर मान्छे परिस्थितिको गुलाम हुन्छ। मेरो कारणले परिस्थिति बिग्रने देखेपछि पार्टीको इमानदार कार्यकर्ताको नाताले उम्मेदवारी फिर्ता लिएँ।’

उम्मेदवारी फिर्ता लिएका अर्का नेता नन्दप्रसाद तिवारीले मुलुक र गठबन्धनको आवश्यकतालाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिएको बताए। ‘अघिल्लो ओली सरकारले संविधान मास्न खोजे, संसदमाथि प्रहार गरे। त्यसका विरुद्ध मुलुकको आवश्यकता अनुसार गठबन्धन भयो। अहिले पनि त्यसको आवश्यकता महसुस गर्दै पार्टीको निर्णय र निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने।

कांग्रेसका अर्का बागी उम्मेदवार विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता गरेनन्। उनले कांग्रेसको गलत निर्णयविरुद्ध डटेर सामना गर्न उम्मेदवारी फिर्ता नगरेको बताए। ‘कांग्रेसले कांग्रेसलाई भोट हाल्न नपाउने यो कस्तो निर्णय हो ? कांग्रेस नेतृत्वको यस्तो गलत निर्णय र निर्देशन मान्न म बाध्य छैन। त्यसैले नेतृत्वको गलत निर्णयविरुद्ध उम्मेदवारी कायम राखेको हुँ,’ उनले भने।

प्रकाशित: १७ वैशाख २०७९ ०५:३१ शनिबार

कांग्रेसका दुई बागी उम्मेदवार मनोनयन फिर्ता