राजनीति

सहोदर दाजुभाइबीच प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एकै घरका दाजुभाई चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र कोहलपुर नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षमा सहोदर दाजुभाई चुनावी प्रतिस्पर्धा हुने भएको हो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट विनोद रिजाल र नेकपा एमालेका तर्फबाट प्रमोद रिजाल चुनावमा प्रतिस्पर्धा गर्दै छन्। यता कोहलपुर नगरपालिका वडा नम्बर ३ मा ताराकेशर रिजाल र माधव रिजाल चुनावी मैदानमा उत्रिएका छन्। विनोद र ताराकेशर दाई हुन् भने प्रमोद र माधव भाई हुन्। 

वडाध्यक्षका लागि उनीहरुले उम्मेदवारी दर्ता गराइसकेका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोद २०४६ सालदेखि विद्यार्थी राजनीति सुरु गरेको बताउँछन्। रिजालका अनुसार त्यतिबेला पञ्चायतविरुद्ध कांग्रेसले लिएको अडान र उसको विचारधाराबाट प्रभावित भएका थिए। त्यसपछि उनी नेविसंघ नगर सभापति हुँदै हाल तरुण दलको बाँके सचिव रहेर काम गरिरहेका छन्। पार्टी बाहिर पनि विनोद जनताको काममा सक्रिय नेताका रुपमा परिचित छन्। 

उनी विकास निर्माणदेखि जनताका पीरमर्कामा आफू जनतासँगै रहेको बताउँछन्। पार्टीभित्र र जनतामाझ काम गरेर देखाएको क्षमताको आधारमा मतदाताले आफूलाई रोज्ने उनको अपेक्षा छ। अघिल्लोपटक पनि वडाध्यक्षमा आकांक्षा देखाएका उनले यसपटक पार्टीका अग्रजहरु, सुमकालीनहरु र वडावासीहरुले आफूलाई नै अघि सार्नुपर्ने मनसाय व्यक्त गरेपछि निर्वाचनमा होमिएको विनोदले बताए। उनी भन्छन्, ‘म सँग जोश जागर छ। स्पष्ट भिजन पनि छ। युवा पनि हो। यस कारण मतदाताले मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ।’ विनोदसँग वडाध्यक्षको चुनावमा लडिरहेका भाई प्रमोद वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष हुन्। 

नेकपा एमालेका युवा नेताका रुपमा लोकप्रिय छबी बनाएका प्रमोद पाँच बर्से कार्यकालमा राम्रो काम गर्ने वडाध्यक्षमध्येमा पर्छन्। उनले नेपालगन्ज उपमहानगरपालिकाको प्रवक्ता भएर पनि अनुभव हासिल गरेका छन्। वडाध्यक्ष हुन अघि कानुन व्यवसायी पृष्ठभूमि भएका रिजाल सामाजिक अभियन्ताका रुपमा समेत परिचित थिए। प्रमोदले आफूहरु वडाध्यक्ष भएपछि वडा नम्बर १ मा प्रशस्त कामहरु भएको बताए।  

प्रमोदले उम्मेदवारीकै कारण आफूहरुबीच कुनै किसिमको वैमनष्ता नरहेको र हुन पनि नदिने भन्दै विनोदको प्रशंसा पनि गरे। ‘उहाँ पनि राम्रो मान्छे हुनुहुन्छ। युवा हुनुहुन्छ। उहाँसँग पनि क्षमता छ। पार्टीले पनि पत्याएको छ। अब फैसला त मतदाताले गर्नुहुनेछ,’ उनले भने। विनोदले पनि आफूहरुबीच उम्मेदवारीको विषयलाई लिएर कुनै विवाद वा क्लेष नरहेको बताए। 

यता दोस्रोपटक आफ्नै दाईसँग चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका माधव भन्छन्, ‘पहिला पनि प्रतिस्पर्धा भएको हो। अहिले पनि हुनेवाला छ। तर यो पार्टीगत लडाइँ हो। व्यक्तिगत होइन।’ ताराकेशर वडा नम्बर ३ मा माओवादी र आफूलाई कमजोर बनाउन आफ्नै भाईलाई अघि सारिएको बताउँछन्। ‘मेरो पहिलादेखि नै तयारी थियो। दुईजनाबीच छलफलसमेत हुन्थ्यो। उसले वडाध्यक्षभन्दा माथि जान सोचमा छु। तपाईं नै आउनुपर्छ भनेको थियो,’ उनले भने। 

उनीहरुबीच उक्त कुरा नेकपा हुँदा नै भएको थियो। पछि फागुन २३ मा पार्टी फुट्दा ताराकेशर माओवादी र माधव नेकपा एमालेतिर लागे। ताराकेशर राजनीतिक आस्था फरक भएकै कारण आफूहरुमा पारिवारिकरुपमा कुनै पनि नराम्रो नरहेको बताए। दलीय व्यवस्थामा यस्ता कुरा हुने र स्वभाविक प्रक्रियासमेत रहेको उनको भनाइ छ।

प्रकाशित: १४ वैशाख २०७९ ११:५२ बुधबार