राजनीति

निर्वाचन सुरक्षामा चारै निकाय सक्रिय

उम्मेदवारको मनोनयन दर्ता सुरु भएलगत्तै निर्वाचन आयोगको सक्रियता एकाएक बढ्ने गर्छ। किनकि मनोनयन दर्तापछिको समयलाई अत्यन्त महत्वपूर्ण र संवेदनशील मानिन्छ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता आइतबार र सोमबार भइसकेको छ। निर्वाचन प्रक्रिया सुरु भएलगत्तै सुरक्षा निकायहरू पनि सक्रियतापूर्वक जिम्मेवारी वहनमा उत्रिएका छन्। दलहरू पनि आ–आफ्नो तयारी गर्दै उम्मेदवार टुंग्याउन युद्धस्तरमा जुटेका छन्।

निर्वाचनमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ। निर्वाचन सुरक्षाका दृष्टिले विगतका निर्वाचनभन्दा केही सहज देखिए पनि आफ्नो संगठन चुस्तताका साथ तोकिएको कार्यमा जुटेको सुरक्षा निकायहरूले बताएका छन्। ‘निर्वाचनका लागि सबै पालिकामा टोली परिचालन भइसकेको छ। परिचालित टोलीबाट मतदानस्थल र केन्द्रको सूचना संकलन, निरीक्षणलगायत काम भइरहेका छन्,’ नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले भने, ‘पालिकामा पठाएको टोली कम हुनेजस्तो देखिए १५ गतेभित्रै थप्ने तयारीमा हामी छौं।’

म्यादीसहित २ लाख ६५ हजार जनशक्ति परिचालन

यसपटकको निर्वाचनमा १ लाख म्यादी प्रहरीसहित २ लाख ६५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने सुरक्षा संयन्त्रहरूले जनाएका छन्। यसरी खटिने संख्यामा म्यादी प्रहरीबाहेक सबैभन्दा ठुलो संख्या नेपाली सेनाको हुनेछ। निर्वाचन सुरक्षाका सन्दर्भमा ७१ हजार नेपाली सेना परिचालन हुन लागेको सैनिक जंगी अड्डाले जनाएको छ।

मतपत्र छपाइस्थलदेखि निर्वाचन अधिकृतका कार्यालय, मतदानस्थल, मतपत्र तथा मतपेटिकाको ढुवानी तथा सुरक्षालगायतमा सेना खटिएको छ। निर्वाचनभन्दा बाहेकको समयमा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण निकायको सुरक्षामा पनि सेना खटिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

यसैगरी विस्फोटक पदार्थ निस्तेज पार्ने टोली र एकीकृत सुरक्षा योजना तथा जिल्ला सुरक्षा समितिको समन्वयमा खटिने फौज पनि हाई अलर्टमा रहने सेनाको भनाइ छ। ‘इमर्जेन्सी समयमा आधा घन्टाभित्रै पुग्नेगरी हरेक पालिकामा सेनाको टोली रहन्छ,’ उनले भने, ‘यसबाहेक हेलिकोप्टर, बम डिस्पोजल टोलीलगायत क्षेत्रमा पनि सेना परिचालन हुन्छ।’

निर्वाचनको सुरक्षाका लागि सेनापछिको ठुलो संख्या नेपाल प्रहरीको हुनेछ। प्रहरी प्रवक्ता केसीका अनुसार निर्वाचनका बेला ६२ हजार प्रहरी परिचालित हुनेछन्। ‘हाम्रो टोली विशेषगरी मतदान केन्द्रको भित्री सुरक्षामा प्रयोग हुनेछ,’ उनले भने। यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिनेछन्। निर्वाचन सुरक्षाका लागि मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने जनाइएको छ। त्यसैअनुसार तीनवटै सुरक्षा निकाय आफ्नो तयारी पूरा गरेर काममा खटिइसकेका छन् भने राष्ट्रिय अनुसन्धान विभागले पनि देशैभर आफ्नो संगठन परिचालन गरेको छ।

निर्वाचन सुरक्षाको अवस्थालाई प्रभावकारी तथा चुस्तदुरुस्त बनाउन यसपटक गृह मन्त्रालयको अगुवाइमा एकीकृत सुरक्षा योजना बनाइएको छ। सो योजनाअन्तर्गत सबै सुरक्षा निकायहरूको समन्वयलाई विशेष प्राथमिकता दिइएको छ। यसपटकको राम्रो पक्ष भनेको तल्लो तहदेखि नै सबै सुरक्षा निकायबीचमा राम्रो समन्वय र संवाद भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता कमलप्रसाद तिउसिनाले बताए। उनले भने, ‘सूचना आदानप्रदान भइरहेको छ। जुन यसपटकको निर्वाचन सुरक्षाका लागि सबैभन्दा सुखद र प्रभावकारी हुने हाम्रो बुझाइ छ।’

यसपटकको निर्वाचन सुरक्षालाई गृहमन्त्री बालकृष्ण खाँणले पनि महत्वका साथ हेरिरहेका छन्। उनले पटकपटक सुरक्षा समितिको बैठक बोलाएर छलफल, भेटघाट र समन्वयको कामलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। बिहीबार आयोजित बैठकमा गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैजना जिम्मेवार ढंगबाट जुट्नुपर्ने बताएका थिए।

सोही बैठकमा सुरक्षा निकायहरूले गृहमन्त्रीसमक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘ब्रिफिङ’ पनि गरेका थिए। सुरक्षाका दृष्टिकोणबाट यसपटकको निर्वाचनमा न्यून जोखिम रहेको विश्लेषण सुरक्षा निकायहरूबाट भएको छ। यद्यपि योजना भने परिपक्व रूपमा नै बनाउने तयारी भइरहेको बताइएको छ। सरकारले विगतदेखि नै निर्वाचन केन्द्र र बुथको आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीलाई दिँदै आएको छ। त्यसमा म्यादी प्रहरीसमेत पर्छन्।

विगतमा जस्तै यसपटक पनि मतदान केन्द्रलाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ भनेर वर्गीकरण गरिएको छ। प्रहरी संख्या पनि सोहीआधारमा निर्धारण गरिएको छ। अति संवेदनशीलमा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा ११ जना, संवेदनशीलमा सई वा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा नौजना र सामान्यमा असईको नेतृत्वमा आठजना खटाउने मापदण्ड प्रहरीले बनाएको छ। यो संख्या म्यादी प्रहरीसहितको हुन्छ।

यसबाहेक हरेक पालिकामा ‘रिजर्भ फोर्स’, प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ‘मोबाइल’ टोली, र ‘स्ट्राइकिङ पुलिस’का रूपमा प्रहरी परिचालनको समेत तयारी रहेको प्रवक्ता केसीले जानकारी दिए। यस्तै सशस्त्र प्रहरी बलले निर्वाचनका लागि ‘पेट्रोलिङ’ (गस्ती), ‘लङ रेन्ज पेट्रोलिङ’ (लामो गस्ती) र ‘फोर्स मार्च’ आदि काममा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी रहेको सशस्त्र प्रहरीका प्रवक्ता तिउसिनाले बताए।

सुरक्षा निकायका प्रमुखबीच जंगी अड्डामा भेट

आसन्न ‘स्थानीय तह निर्वाचन–२०७९’ सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखबीच आइतबार सैनिक मुख्यालमा भेट तथा छलफल भएको छ। छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी थिए।

सुरक्षा निकायका प्रमुखहरूबीच स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। उनीहरूबीच सरकारले सुरक्षा निकायहरूलाई दिएका जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायत विषयमा छलफल भएको छ।

छलफलमा नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी रथीवृन्द तथा अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता थियो। कार्यक्रममा वैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्नुपर्ने विषयबारे प्रस्तुतीकरण गरिएको थियो।

प्रकाशित: १४ वैशाख २०७९ ०१:०२ बुधबार

स्थानीय तह निर्वाचन