राजनीति

कांग्रेसमा असन्तुष्टि मल्ललाई कारबाही

‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा उम्मेदवार बन्नुहुने सबै साथीलाई शुभकामना छ।’ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई लिएर मंगलबार सामाजिक सञ्जालमा व्यक्त गरेको असन्तुष्टि हो यो।

‘राजनीतिका लागि म आफैं अनफिट जस्तो लागिरहेको छ,’ घिमिरे भन्छन्। स्थानीय सरकारमा पाँच वर्षको नेतृत्व लिन सोमबार उम्मेदवारी दर्तासँगै असन्तुष्टि जनाउने घिमिरे एकमात्र नेता होइनन्। कांग्रेसका प्रदेश, जिल्ला हुँदै वडा तहसम्मका नेता तथा कार्यकर्तामा पनि असन्तुष्टि तीव्र छ।

पार्टीको १४औं महाधिवेशनमा देखिएको गुटगत विभाजनको प्रभाव स्थानीय तह निर्वाचनमा उम्मेदवारी छनोटमा पनि देखिएको छ। राम्रो भन्दा हाम्रोलाई नेताहरूले प्राथमिकता दिँदा पार्टीका प्रभावशाली नेताकै गृहजिल्लामा तीव्र असन्तुष्टिमात्र उत्पन्न भएको छैन, उम्मेदवारी छनोटप्रति रुष्ट पार्टीका नेता तथा कार्यकर्ताले वडादेखि पालिकासम्म बागी मनोनयन दर्ता गराएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरामा विवाद छ। सभापति देउवासहित संस्थापन पक्षले एकलौटी गरेको भन्दै पूर्वजिल्ला सभापति कर्ण मल्लसहित कांग्रेस नेताहरूले छुट्टै समूह बनाएर एमालेसँग चुनावी तालमेल गरेका छन्। त्यसले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा अप्ठेरोमा परेपछि कांग्रेसले मल्ललाई पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।

त्यस्तै महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीचको शक्ति संघर्षले झापामा पनि पार्टीभित्रको विवाद तीव्र बन्न पुगेको छ। एकले अर्काको अस्तित्व स्वीकार गर्न उनीहरू तयार नहुँदा जिल्ला तहका नेता तथा कार्यकर्ता अप्ठेरोमा परेका छन्।

अर्का महामन्त्री गगन थापाको गृह जिल्ला काठमाडौंको उम्मेदवारी छनोटमा पनि नेताहरूमा मतभेद देखिएको छ। नगरपालिकाको उम्मेदवार छनोटमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र महामन्त्री थापा हावी भएको भन्दै केन्द्रीय सदस्य अम्बिका बस्नेतले असन्तुष्टि पोखेकी छन्। उनले पार्टी केन्द्रीय सदस्यबाट नै राजीनामा गर्ने घुर्की लगाएकी छन्।

गोरखासहितका कतिपय जिल्लामा पार्टीभित्रको गुटगत मतभेदले एउटाले पाएको टिकट अर्कोले खोस्ने मात्र होइन, हातपातकै अवस्थामा कांग्रेस नेता तथा कार्यकर्ता पुगेका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहितका नेताहरू एमालेसँग मिलेर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारी छनोटकै विषयलाई लिएर पौडेल निकट केही नेताले पार्टी सदस्यबाट राजीनामा गरेका छन्।

कांग्रेस नेता ऋषिकेश तिवारीले पनि उम्मेदवारी छनोटप्रति असन्तुष्टि जनाएका छन्। उनले पूर्व केन्द्रीय सदस्य घिमिरेलाई समेत सम्बोधन गर्दै लेखेका छन्, ‘राजनीति निरन्तर आशा र अनन्त सम्भावनाको संयोजन हो। म ६६ वर्षको भएँ। उत्साहपूर्वक सक्रिय नै छु। तपाईं त मभन्दा धेरै जवान हुनुहुन्छ गुरुजी । विचारमा पुनर्विचार गर्नुस्, राजनीतिमा कहिलेकाहीं ढिलो गरी चमत्कार हुन्छ । मेरो क्षेत्रमा मलाई टिकट नदिएको कारण चारपटक पार्टी हारेको अवस्था छ। तर पनि म सक्रिय नै छु।’

गठबन्धनलाई जिताउन विद्यार्थी संगठनहरुको अपिल

यसैबीच सत्ता गठबन्धन दल समर्थित विद्यार्थी संगठनले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन्। सत्ता गठबन्धनका नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकटको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकटको अखिल छैटौंका अध्यक्षहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।

‘सिंगो मुलुक निर्वाचनमा होमिएको र मनोनयनसमेत दर्ता भइसकेको वर्तमान सन्दर्भमा गठबन्धनभित्रका साझा उम्मेदवारलाई अत्यधिक मतका साथ हरेक स्थानीय तहमा विजय गराउन संयुक्त विद्यार्थी संगठन आम अपिल गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ। नमिलेका कतिपय ठाउँमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्नेगरी प्रस्तुत हुन र देशैभर गठबन्धनसम्बद्ध दलका उम्मेदवारलाई बिनासर्त मेहनतपूर्वक विजयी बनाउन उनीहरुले आग्रह गरेका छन्।

मुलुक नयाँ युगमा प्रवेश गरिसक्दा पनि परिवर्तनलाई आत्मसात् गर्न नसक्ने कतिपय शक्तिले परिवर्तनविरुद्ध निरन्तर षड्यन्त्र जारी राखेको उनीहरुको आरोप छ। ‘वर्तमान निर्वाचनले मुलुकको परिवर्तनको पक्षमा व्यापक जनमतसहित अनुमोदन गर्दै इतिहासको चक्कालाई पछाडि फर्काउन चाहने प्रवृत्तिलाई रछ्यानमा मिल्काउनेछ,’ अपिलमा छ।

प्रकाशित: १४ वैशाख २०७९ ००:३० बुधबार