मोरङको ग्रामथान गाउँपालिका–४ बाट आइतबार ७ जना जुवाडेलाई ६ लाख ४१ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ। मोरङ, सुनसरी र झापाका जुवाडेहरु ग्रामथान–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापा मगर, मोरङकै ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशीलाई जुवा खालबाट पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।
प्रहरीका अनुसार १ वर्षदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि छापा हान्ने पटक–पटकको प्रयास सफल हुन सकिरहेको थिएन। जुवा खालबाट ६ लाख ४१ हजार ३ सय १५ रूपैयाँ नगद र कौडा प्रहरीले बरामद गरेको छ। उनीहरुलाई जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।
प्रकाशित: १२ वैशाख २०७९ १४:४२ सोमबार