राजनीति

गोनपाको मेयरमा पन्तको उम्मेदवारी दर्ता, कार्यकर्ताबाट कुटिएका श्रेष्ठको टिकट खोसियो

फोटो उमेदवारी दर्ता गराउँदै मेयर पन्त र उपमेयर थोकर।

गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त र उप मेयरमा मसलीमाया थोकरले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार दिनभर किचलो बनेको गोरखा नगरपालिकाको मेयरको उम्मेदवारी केन्द्रीय समितिले टुङ्ग्याएको कांग्रेस गोरखाले जनाएको छ।

गण्डकी प्रदेश समितिले विश्वदेव श्रेष्ठलाई टिकट दिएको थियो। असक्षम व्यक्तिलाई टिकट दिएको भन्दै कार्यकर्ताले विरोध जनाएका थिए। नेपाली कांग्रेस जिल्ला सदस्य विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।

गोरखा नगरपालिका ६ स्थित दिपक डिजिटल फोटो कलर ल्याबमा फोटो खिचाउन गएका उनलाई कार्यकर्ताहरुले जनमत नभएको व्यक्तिलाई पार्टीले मेयर टिकट दिएको भन्दै सोमबार दिउँसो कुटपिट गरेका हुन्। कार्यकर्ताको कुटपिटबाट उनको हातमा चोट लागेको छ।

‘फोटो स्टुडियो भित्रै आएर ड्यामका ड्याम हाने’ श्रेष्ठले हातको चोट देखाउँदै भने। मनोनयन दर्ताका लागि फोटो खिचाउन आफू स्टुडियो आएको उनले बताए। कार्यकर्ताले किन कुटपिट गरे भन्ने बारेमा आफू अनविज्ञ रहेको उनले बताए।

गोरखा सदरमुकामको बैंकरोड आसपास धेरै युवाहरु भेला भएका थिए। उनीहरुले सक्षम अरु धेरै उम्मेदवार हुँदाहुँदै पार्टीले गलत निर्णय गरेको भन्दै आक्रोश पोखेका छन्। प्रहरीले बजारक्षेत्रको सुरक्षा सर्तकर्ता बढाएको थियो। असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय र गोरखा नगरपालिका समितिको कार्यालयमा पनि तालाबन्दी गरेका थिए।

दिनभर कुनैपनि वडाबाट कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता नगराएपछि केन्द्रीय समितिले मेयर पन्तलाई टिकट पठाएको हो। कांग्रेसले गोरखा नगरपालिकामा साँझ ५ बजे उम्मेदवारी दर्ता गराएको जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७९ ११:५७ सोमबार