राजनीति

पोखरामा एमालेले फेर्‍यो मेयरका उम्मेदवार

मेयरका उम्मेदवार कृष्ण थापाले राजीनामा दिए

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले राजीनामा दिएका छन्। एमालेले दीपक पौडेललाई दिईसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।

मेयरको उम्मेदवार बन्ने पक्का भएपछि थापाले सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका छन्। थापा कास्की २ (क) बाट विजयी भएका थिए। सभामुख अधिकारीले थापाको राजीनामा आफुकहाँ आएको जानकारी दिए।  

सुन चोरीको आरोपमा आलोचना भएपछि एमालेले पौडेललाई दिएको टिकट खोसेको हो। सुन चोरीमा पौडेल संलग्न भएको भनिएको झन्डै दशवर्ष अघिको भिडियो सामाजिक सञ्जालमा हालिएको थियो। भिडियो हालेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।  

यसअघि टिकट पाएका पौडेल एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने सोमबार टिकट पाएका थापा खगराज अधिकारीपक्षका हुन्। थापालाई यसअघि मेयरमा हटाउन गुरुङले नै गण्डकीमा सरकार परिवर्तन हुन सक्ने भएकोले प्रदेश सांसदलाई मेयरको उम्मेदवार बनाउन नसकिने बताएका थिए।  

प्रकाशित: १२ वैशाख २०७९ ०७:२१ सोमबार

एमाले पोखरा महानगरपालिका