राजनीति

मेयरमा उमेदवारी दिन प्रदेश १ का दुई जना सांसदले दिए राजीनामा

स्थानीय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदले राजीनामा दिएका छन्। आइतबार प्रदेश १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीसमक्ष सांसदहरू काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ। कागते इलाम क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुन् भने बुढाथोकी झापा क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुन्। 

अघिल्लो निर्वाचनका दुवै प्रत्यक्ष तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभामा दिएको राजीनामा आइतबार नै स्वीकृत भइसकेको प्रदेस १को प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए। राजीनामा दिएका दुवै सांसद एमालेका हुन्। सांसद काजीमान कागतेले  इलामको सूर्योदय नगरपालिकाको मेयरमा उमेदवारी दिने भएका छन्। 

यस्तै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले झापाको मेचिनगर नगरपालिकाको मेयरमा उमेदवारी दिन सांसद पदबाट राजीनामा दिएका हुन्। दुई जना सांसदले राजीनामा दिएसँगै प्रदेश १ को प्रदेशसभामा  ९० जना सांसदमात्रै कायम भएका छन्। ९३ सदस्यीय प्रदेशसभामा यसअघि नेकपा माओवादी केन्द्रले १ जना सांसदलाई कार्वाही गरी निश्काशन गरेको थियो। 

प्रकाशित: ११ वैशाख २०७९ ०९:४९ आइतबार