राजनीति

काँग्रेसका पूर्व जिल्ला उपसभापति, पालिका सभापतिसहित माओवादी नेता एमाले प्रवेश

गठबन्धनको असर

ताप्लेजुङका स्थानीय तहमा सत्तारुढ गठबन्धनले गरेको पदीय भागबन्डापछि भड्किएको राजनीतिक माहोलले पार्टी परिवर्तन र पार्टी त्यागसम्मको अवस्था ल्याएको छ। यहिँ कारण देखाउँदै नेपाली काँग्रेस ताप्लेजुङका पूर्व जिल्ला उपसभापति, फक्तालुङ गाउँपालिका कार्य समिति अध्यक्ष र माओवादी केन्द्रका स्थानीय नेताको अगुवाइमा तीनैपार्टीका स्थानीय कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।

नेकपा एमाले ताप्लेजुङका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले बिभिन्न पार्टी परित्याग गरी शनिबार करिव ५ सय जना एमाले प्रवेश गरेको दावी गरेका छन्। उनका अनुसार काँग्रेस ताप्लेजुङका पूर्व जिल्ला उपसभापति तथा इखाबु गाविसका तत्कालीन अध्यक्ष/प्रधानपञ्च मणिप्रसाद लाबुङ, नेपाली काँग्रेस फक्ताङ्लुङ गाउँ कार्य समिति सभापति भद्रकुमार बोखिम, माओवादी केन्द्रका नेता निमा नावा शेर्पासहित करिव ५ सय कार्यकर्ता एमाले प्रवेश गरेका छन्। 

काँग्रेसका पुराना कार्यकर्ता लाबुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए। बोखिमलाई आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसले गाउँपालिका अध्यक्षका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो। तर सत्तारुढ गठबन्धनले पदीय भागबन्डा गर्दा फक्ताङ्लुङ गाउँपालिका माओवादी केन्द्रको भागमा परेपछि लाबुङ र बोखिमसहितका काँग्रेस कार्यकर्ता भड्किएका थिए।

शनिबार एमाले सचिव भट्टराई, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोसहितका नेताहरुले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।

प्रकाशित: १० वैशाख २०७९ १५:०६ शनिबार