राजनीति

गोरखामा गठबन्धन भित्रै सहमति जुटेन

स्थानीय तहको निर्वाचनमा तालमेलको विषयलाई अन्तिम टुङ्गो लगाउन शुक्रवार राति बसेको गठबन्धन दलका नेताहरुको बैठक निष्कर्ष बिहिन भएको छ।

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मनोनय दर्ताको समय बैशाख ११ र १२ लाई तोकेको छ। मनोनयन दर्ताका लागि एक दिनको समय बाँकी छँदा सम्म यहाँका गठबन्धन दल बिच सहमती जुट्न नसकेको हो। बैठक शनिवार बिहान ६ बजे पुन बस्ने गरी स्थगित भएको छ।

पालिका बाँडफाँडको विषयमा सहमती गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बैठक भएको थियो। कांग्रेसले ७, माओवादीले ५, जनता समावजादीले २ वटा पालिकामा दावी नछाडेपछि सहमति हुन नसकेको हो। ११ वटा स्थानीय तह रहेको गोरखामा गठबन्धन दलहरुले दावी गरेको पालिका संख्या १४ पुगेको  छ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं गठबन्धन संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादबबहादुर बस्नेत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट सहभागी थिए।

बैठक पालिका बाँडफाँड कसरी गर्ने भन्नेमा केन्द्रित भएपनि निष्कर्षमा पुग्न नसकेको सहभागी एक नेताले बताए। शुक्रवार राती अवेर सम्म भएपनि पालिका र वडाको भागवण्डा टुङ्ग्याउने योजनामा गठबन्धनका नेताहरुले छलफल गरेका थिए।

कुन दलले कति वटा कुन पालिका लिने भन्नेमा भने दलहरु बिच सहमती जुट्न नसक्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ। केही नेताले भने गठबन्धन बिच तालमेलको संभावना कम हुँदै गएको आँकलन पनि गरेका छन्।

प्रकाशित: १० वैशाख २०७९ ०२:५६ शनिबार