राजनीति

याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा राजीनामाको घोषणा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष लड्न ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजीनामाको घोषणा गरेका छन्।

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीस प्रकाश राउत र पाथीभरा याङ्वरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले राजीनामाको घोषणा गरेका हुन्।

नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका सुब्बा र गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए। एमालेले फेरी पाथीभरा याङ्वरकमा सुब्बा र गुरुङलाई नै अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

संवैधानिक व्यवस्था अनुसार प्रमुख/अध्यक्षले उपप्रमुख/उपाध्यक्ष समक्ष र उपप्रमुख/उपाध्यक्षले प्रमुख/अध्यक्ष समक्ष राजीनामा दिनुपर्ने हुन्छ। बहालवाला जनप्रतिनिधि वा कुनै लाभको पदमा रहेको व्यक्तिले स्थानीय तहको कुनै पदमा उम्मेदवारी दिने मनस्थिति बनाए लाभको पदबाट राजीनामा दिएको पत्र सम्बन्धीत स्थानीय तहमा दर्ता भएको प्रमाण मनोनयनका क्रममा अनिवार्य पेश गर्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित: ९ वैशाख २०७९ ०६:०२ शुक्रबार

स्थानीय तहको निर्वाचन