राजनीति

भक्तपुरमा एमालेलाई एउटा वडा सदस्य पनि जित्न दिँदैनौः श्याम बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) लाई भक्तपुरको एउटा वडा सदस्य पनि जित्न नदिने दाबी गरेका छन्।

त्यसका लागि जिल्लाका चार वटै नगरपालिकाका प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष र सदस्यहरुमा पार्टीको तर्फबाट उनले उम्मेदवारी घोषणा गरे। ‘एमालेलाई जिल्लामा शून्यमा झार्न हामीले जिल्लाका सबै नगरपालिका सबै वडाहरुमा सबै पदमा उम्मेदवारी दिनेछौँ, उनले भने, ‘महिला वडा सदस्य, दलित वडा सदस्य एउटा पनि खाली नहुने गरी हामीले उम्मेदवारी दिनेछौँ। उनले सबै वडाहरुमा उम्मेदवारी पनि घोषणा गरे।’

पार्टीका उम्मेदवारी घोषणा गर्न बुधबार यहाँं गरेको पत्रकार सम्मेलनमा उनले एमालेको भोट काटेर उनलाई हराउने योजना बनाएको सुनाए। ‘हामी जित्ने भन्दा पनि एमालेलाई हराउने हाम्रो मुख्य योजना हो, उनले भने, ‘एमालेलाई एउटा वडामा एकजना वडा सदस्य पनि नजितुन् भनेर हामीले मिहिन रुपले योजना बनाएका छौँ।’ जिल्लामा चार वटा नगरपालिकाहरु छन्।

पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमपसाद मिश्रले ८ हजार ५ सय १२, उममेयर बिना बास्तोलाले ८ हजार ७ सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले ४ हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएको थियो।

मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँंग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो। एमालेबाट नै फुटेर बनेको नेकपा एसले अहिले एमालेको भोट काटेर हराउने योनजा बनाएको हो। भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काटने सम्मेलनमा बताइयो।

पार्टीका उम्मेदवारहरुले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाुँंगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट एमालेको काटने दाबी गरेको छ। वडास्तरमै पुगेर तथ्यांक विश्लेषण गरी आफूहरुले यो हिसाब निकालेको सम्मेलनमा बताइएको छ।

उक्त सम्मेलनमा एमालेलाई हराउन पार्टीले जिल्लामा सतारुढ पाँंचदलीय गठबन्धनसँंग जुनै पनि हिसाबले गठबन्धन गर्न चाहेको बताइयो। भक्तपुरका चार वटा नगरपालिकाहरुमा ३८ वटा वडाहरु छन्। लगभग एउटा वडा फुत्किएला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरिरहेका छौँ एमालेलाई हराउन, सम्मेलनमा सहभागी नेताहरुले भने, ‘कुनै ठाउँमा एमाले पार्टीका उम्मेदवार जित्ने छैन, हामी यो घोषणा गर्दछौँ।’

सम्मेलनमा जिल्लामा पहिलो शक्तिका रुपमा कांग्रेस आउने, दोस्रो शक्तिका नचाहेर पनि रुपमा एमाले नै हुने र तेस्रो शक्तिका रुपमा नेकपा एस रहने दाबी गरियो। एमाले कुल मत मिलाएर दोश्रो शक्तिमा आए पनि वडा र नगरपालिकाहरुमा एक दुई हजार भोट काटेपछि नै एमालेले हार्ने उनीहरुको भनाइ थियो।

एउटा कम्युनिष्ट पार्टीले अर्काे कम्युनिष्ट पार्टीलाई लक्षित गरी हराउने रणनीति बनाउँंदा कम्युनिष्ट आन्दोलन कमजोर भइ अन्ततः गैर कम्युनिष्टलाई फाइदा हुने देखियो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘एमाले कम्युनिष्ट पार्टी नै होइन।’

प्रकाशित: ७ वैशाख २०७९ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App