सत्तारुढ गठबन्धनबीच दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व माओवादीको भागमा पर्ने पक्कापक्की जस्तै भएपछि जिल्ला तहका कांग्रेसीहरुले यो निर्णय सच्याउन कांग्रेस केन्द्रलाई आग्रह गरेका छन्।
कांग्रेसको जनमत बलियो भएको स्थानीय तहमा माओवादीलाई नेतृत्व सुम्पिदा आम कार्यकर्ता तथा मतदाताहरुमा चरम निराशा उत्पन्न भएको भन्दै कांग्रेस क्षेत्रिय समिति र घोराही नगर समितिले आम कार्यकर्ता तथा मतदाताहरुको मनोभावलाई बुझ्न आग्रह गरेका हुन्। नेपाल प्रेस युनियनका पत्रकारहरुसंगको छलफलका क्रममा क्षेत्रिय समिति र घोराही नगर समितिले गठबन्धनको सहज जीतका लागि पनि घोराहीको नेतृत्व कांग्रेसलाई दिलाउनु पर्नेमा जोड दिए।
तथापी निर्णय नसच्चिएको खण्डमा पनि गठबन्धनको निर्णयमा लाग्न आम कार्यकर्ताहरुलाई कांग्रेसका यी दुई ईकाईले आग्रह गरेका छन्। ‘घोराही उपमहानगरको नेतृत्व कांग्रेसले नपाउँदा आम कार्यकर्ताहरुमा निराशा चरमरुपमा उत्पन्न भएको छ,’ कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले छलफलका क्रममा भने, ‘तर पनि पार्टीको केन्द्रीय निर्णयलाई मानेर आम कार्यकर्ताहरु अगाडी बढ्नु पर्छ,पार्टीले गरेको निर्णयका बिरुद्ध हामीहरु जानु हुँदैन।’ साथै उनले गठबन्धनले गर्ने कुनै पनि निर्णयकाविरुद्धमा अभव्यिक्ति नदिन पनि आम कार्यकर्ताहरुलाई आग्रह समेत गरे।
कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठले पनि घोराही उपमहानगरको नेतृत्व छोड्ने गरि गरिएको निर्णय सच्याउन पार्टी केन्द्रलाई आग्रह गरे। उनले भने ‘गठबन्धनको सहज जीतका लागि कांग्रेसले नेतृत्व पाउनु अपरिहार्य थियो, जनमतका हिसाबले पनि स्वाभाविकै रुपमा नेतृत्व पाउनु पर्ने स्थानमा छोड्ने भनेर गरिएको निर्णय कांग्रेसीहरुका लागि दुखद हो, यसर्थ यसलाई सच्याएर अघि बढियोस्।’
छलफलका क्रममा घोराही नगरसभापति तिलक रावतले घोराही उपमहानगरमा सहज जीतका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेकाले निर्णय सच्याईनु पर्ने बताए। तथापी गठबन्धनले गरेको निर्णयलाई एमालेसंगको लडाईँका रुपमा कार्यान्वयन गर्नै पर्नेमा जोड दिए। ‘कांग्रेसको बलियो पकड रहेको यो उपमहानगरमा सहज जीतका लागि कांग्रेसको नेतृत्व नै अपरिहार्य हो,’ नगरसभापति रावतले भने ‘तथापी हामीहरुको प्रतिष्पर्धा भनेको एमालेसंग हो, एमालेसंगको प्रतिष्पर्धाका लागि पनि हामीहरुले गठबन्धनको हरेक निर्णयलाई मान्नैपर्छ, कांग्रेसका आम साथीहरु यसप्रति गम्भिर बन्नु पर्छ।’
घोराही उपमहानगरको नेतृत्वका लागि भएको गठबन्धनको निर्णयले आम कार्यकर्ताहरुमा नैराश्यता बढाएको भन्दै उनले गठबन्धन दलका बीचमा एक भएर जानै पर्ने भएकाले निराश नहुन पनि उनले आग्रह गरे। ‘निराशा उत्पन्न भएका छन्, तर ति निराशालाई समाप्त पारेर उत्साहित बनाउने काममा हामीहरु लाग्नुपर्छ,’ उनले भने, ‘किनकी पार्टी केन्द्रले गरेको निर्णयलाई पालना गरेर अगाडी बढ्नु हामी कांग्रेसका सीपाहीहरुको धर्म हो।’ तर केन्द्रका केही निर्णय कार्यकर्ताको भावना अनुकुल नहुँदा कार्यान्वयनमा समस्या हुने गरेको रावतले बताए।
‘कहिले काही आम कार्यकर्तालाई दास सम्झिएर निर्णय गर्ने बानीले कार्यन्वयनमा समस्या देखिने गरेको हामी माझ थुप्रै उदाहरणहरु छन,’ उनले भने ‘त्यसैले गल्तीबाट सिक्ने हो तर गल्ती दोहोराउँदै जनता र कार्यकर्ताको मनोभावना लाई वेवास्ता गरि अहिले गरिएको गरिएको निर्णय फेरि कार्यन्वयनमा गाह्रो हुने अवस्थामा देखिएको छ, त्यसैले नेतृत्वलाई सच्चिएर जान अनुरोध गर्दछु।’
छलफलमा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले कांग्रेसभित्र उत्पन्न असन्तुष्टिको बिषयलाई सम्बोधन गर्ने सवालमा कांग्रेसका ईकाईहरु गम्भिर भएर लाग्नु पर्ने सुझाव दिए। गठबन्धनबीच जिल्लाका दुई उपमहानगर मध्य घोराहीमा माओवादीलाई र तुलसीपुरमा कांग्रेसलाई नेतृत्व दिने सहमती भएको छ।
प्रकाशित: ७ वैशाख २०७९ ०८:०८ बुधबार