राजनीति

राप्रपा धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन

धरानमा राप्रपाबाट मेयरका उम्मेदवार नरेश शाक्य र उपमेयरकी उम्मेदवार पुर्णिमाया राई। तस्बिर: नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानको मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ।  

आज (मंगलबार) बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीले जानकारी दिए। उनले भने,‘मेयरमा अरु पनि उम्मेदवारका आकांक्षीहरु थियौ, तर सबैले नरेश शाक्यलाई नै सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्यौ।’

मेयरमा शाक्यसहित नगर अध्यक्ष पराजुली, सुनसरी क्षेत्र नं १ (क) का अध्यक्ष जुद्ध लोहनी, रोशन विश्वकर्मा दर्नाल, दोर्जे शेर्पालगायत आकांक्षी थिए। उपमेयर भने पुर्णिमाया राई मात्र आकांक्षी थिइन्। मेयरका उम्मेद्वार शाक्य धरान १२ निवासी हुन्। 

उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन्।  उपमेयरकी उम्मेदवार धरान १८ निवासी हुन्। उनी जनसरोकार मञ्च नेपालमार्फत भ्रष्टचार विरोधी अभियानमा सक्रिय थिइन्। नगर अध्यक्ष पराजुलीका अनुसार धरानको वडाहरुमा पनि सर्वसम्मत उम्मेदवार चयन धमाधम भइरहेको छ। हालसम्म अन्य पार्टीसँग तालमेल वा गठबन्धन गर्नेबारे केन्द्रीय निर्देशन नआएकोले धरानमा राप्रपाले एक्लै चुनाव लड्ने पनि उनले बताए।

प्रकाशित: ६ वैशाख २०७९ १०:२५ मंगलबार