कोहलपुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्ष बन्न एकजना शिक्षकले राजीनामा दिएका छन्। त्रिभुवन माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक हेमकुमार रावलले राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।
नेकपा एमालेले उनलाई १० नम्बर वडाको अध्यक्षको उम्मेदवार बनाउन जिल्लामा सिफारिस गरेको छ। शिक्षण पेसामा आबद्ध हुँदा गाउँ समाजमा शिक्षा छरेको भन्दै उनले अब गाउँ समाजको समग्र विकास गर्ने बताए। उनी कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतका जेठा छोरा हुन्। बुवाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनी बताउँछन्। तर विगत चार वर्षयता रावतले पढाउने काम भने छोडिसकेका थिए।
उनी काजमा नगर शिक्षा शाखामा कार्यरत थिए। पछिल्लो एक वर्षयता भने मेयर लुटबहादुरले आफ्नो सचिवालयको कर्मचारी नै बनाए। अहिले भने रावत वडाध्यक्षको उम्मेदवार बनेका छन्। रावतको राजीनामा शिक्षा तथा समन्वय इकाई कार्यालयले वैशाख १ गते स्वीकृत गरिसकेको छ।
वडाध्यक्षको उम्मेदवारीका बारेमा रावतले आफूले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएको बताए। उनले भने, ‘मैले शिक्षकबाट राजीनामा दिइसके। स्वीकृतसमेत भइसक्यो। जनता र पाटीको आर्शीवादले चुनावी मैदानमा होमिएको छुँ।’ उनले आफ्नो चुनावी प्राथमिकता शिक्षा स्वास्थ्य, कृषि र पूर्वाधार रहेको बताए।
उनले आफूले जित्ने पनि विश्वास व्यक्त गरे। गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो। उक्त वडामा अहिलेसम्म नेकपा एमालेले जितेको इतिहास छैन। आफूले जितेर इतिहास कायम गर्ने वडाध्यक्षका उम्मेदवार रावतले बताए। उक्त वडामा वडाध्यक्षसहित पम्फा शाही, अञ्जु परियार, जग्गु थारु र गोरे रावतलाई सदस्यको उम्मेदवारका रुपमा टुंगो लगाइएको छ।
प्रकाशित: ६ वैशाख २०७९ ०९:५२ मंगलबार