राजनीति

गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन्।

उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे। गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको बताए।

प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताए। लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनले बताए।

उनले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए। उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गरे।

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए। उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गरे।

प्रकाशित: ६ वैशाख २०७९ ०९:०९ मंगलबार