राजनीति

दोलखाको भीमेश्वरमा मानन्धरलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

क्याप्शन

नेपाली कांग्रेसले दोलखाको भीमेश्वर नगरपालिकामा ईश्वर नारायण मानन्धरलाई आसन्न स्थानीय चुनावमा नगर प्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार चरिकोटमा सम्पन्न पार्टीको जिल्ला स्तरीय संसदीय समिति बैठकले मानन्धरलाई नगर प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला सभापति बर्मा लामाले जानकारी दिए। पार्टीभित्र तीन जना आकांक्षी रहेकोमा सबैले उनलाई समर्थन गरेपछि समितिले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय हो।  

सदरमुकाम चरिकोट बजारका स्थानीय रहेका मानन्धर २०७४ सालको स्थानीय निर्वाचनमा समेत पार्टीबाट मेयर पदमा प्रत्याशी थिए। २०३८ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय मानन्धर ९ औ महाधिवेशनदेखि महासमिति सदस्य छन्।

भीमेश्वरमा कांग्रेस र एमालेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ। माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई नगर प्रमुखका रुपमा स्विकार्ने सहमति सत्ताघटक गठबन्धनभित्र बनेको छ।

यता एमालेले भीमेश्वरमा उम्मेदवार टुङ्ग्याउन सकेको छैन। नगर प्रमुखमा बहालवाला मेयर भरत केसी, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, ४ का वडाध्यक्ष हरिवंश चौलागाई लगायत आकांक्षी छन्।

प्रकाशित: ५ वैशाख २०७९ १४:२६ सोमबार