नेपाली कांग्रेस केन्द्रीय समितिले स्थानीय तहको अवस्था र आवश्यकताका हिसाबले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो। सत्ता गठबन्धन दलबीच गठबन्धन कायम राख्न चुनावी तालमेल अनिवार्य भन्ने विषयमा छलफल भए। नेताहरुका अभिव्यक्ति पनि तालमेल केन्द्रित नै छन्। सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच चुनावी तालमेलमा जति एकरुपता छ कांग्रेस पार्टीभित्र त्यति नै एकरुपता छैन।
कांग्रेसभित्र गठबन्धन दलसँग चुनावी तालमेल गर्ने विषयमा फरक मत छ। संस्थापन पक्षअर्थात प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष चुनावी तालमेल गर्ने निर्णयको बचाउमा छ भने शेखर कोइरालाअर्थात संस्थापन इतर समूह उक्त निर्णयको विपक्षमा छ। यसले नेपाली कांग्रेसभित्र पुनः दुई धारमा विभाजन गरेको छ।
कांग्रेसभित्रको गुटगत प्रभाव सत्तागठबन्धनबीच हुने चुनावी तालमेतमा स्पष्ट देखिएको छ। बाँकेमा संस्थापनइतर समूहका नेता नारायणप्रसाद गौडेलले पार्टी सभापति छन्। उनले नै सत्ता गठबन्धनबीचको समन्वकारी भूमिकाको नृतृत्व गर्छन। तर गुटगत मानसिक बोकेका उनको प्रभावकारी भूमिका नहुँदा बाँके चुनावी तालमेलबाट पछाडि हटेको छ। सत्ता साझेदार दलहरुबीचको बैठकले गठबन्धन हुने निष्कर्षमा पुगिसक्यो।
चुनावी तालमेल अवस्था र आवश्यकता हेरेर गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए। ‘जिल्लामा सत्ता साझेदारबीच चुनावी तालमेलमा कांग्रेसले अड्को थापेको एकोहोरो आरोप लागेको छ,’ उनले भने, ‘गठबन्धनको बैठकमा गरिएका निर्णयमा गठबन्धन दलका नेताहरुका पनि हस्ताक्षर छन्।’ स्थानीय तह र वडाले अवस्था र आवश्यकता हेरेर चुनावी तालमेल गर्ने वा नगर्ने उनीहरुको अधिकार क्षेत्र भएको उनी बताउँछन्।
नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार नै आफूले जिल्लाका काम गरिरहेको भन्दै उनले भने, ‘जिल्ला सभापति भएपछि यो वा त्यो गुट भन्ने नै भएन। केन्द्रको निर्देशनअनुसार काम गरेको छुँ।’ बदनाम गराउने नियतले आफूमाथि आरोप लगाइएको उनको भनाइ छ। कसैले घाँस खा भन्दै नखाउने भन्दै उनले भने, ‘हिजो कांग्रेसले जितेको ठाउँ आज कसरी छाड्न सकिन्छ।’
जिल्ला सभापति गौडेलकै अनुइच्छुक देखिएको जस्तो गरी गठबन्धनका बैठकहरु सफल नभएको नेपाली कांग्रेसभित्रकै नेताहरु बताउँछन्। ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा चुनावी तालमेलका विषयमा लाग्नु भएको छ,’ एकजना कांग्रेस नेताले भने, ‘पार्टीभित्रको लाइनको हिसाबले पनि बाँकेमा प्रभावकारी भूमिका निर्वाह गरिएन। कांग्रेस एक्लौ जानुभन्दा साझेदारी गरे जाँदा नतिजा राम्रो आउथ्यो।’ यता संस्थापन पक्षका नेता तथा पूर्व सांसद बादशाह कुर्मीले प्रयास भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए। गठबन्धन दलबीच चुनावी तालमेल गर्ने विषयमा जिल्ला कार्य समितिको बैठक नै नबसेको उनले जनाए। ‘जिल्ला कार्य समितिको बैठक बस्न सकेन,’ उनले भने, ‘तर पदाधिकारी बैठकमा भने छलफल भएको थियो।’
प्रकाशित: ५ वैशाख २०७९ ११:५० सोमबार