राजनीति

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्। जिल्ला निर्वाचन कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यन्वयन र परिचालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा दलका नेताहरुले यस्तो बताएका हुन्।

‘हामी हाम्रो तर्फबाट आचारसंहिता पालना गर्न तयार छौँ’ नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण आलेले भने ‘निर्वाचन अधिकृतहरु पनि अचारसंहिता भित्र बस्नुपर्‍यो।’ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले आचारसंहिता पालना गर्न धेरै गाह्रो भएको बताउँदै भने ‘यो पालना गर्न त्यती सजिलो छैन, तर हामी सबै मुख्य क्षेत्रले यसलाई पालना गरौँ, गर्नुपर्छ।’

माओवादी केन्द्रका लोकप्रसाद बञ्जाराले आचारसंहिता निकै राम्रा रहेको तर अनुगमन र व्यवस्थापन पाटो पनि राम्रो बनाउनुपर्ने बताए। ‘विश्वशनिय वातावरण बनाउनुपर्छ’ उनले भने ‘हाम्रो पार्टी पालना गर्न प्रतिवद्ध छ।’

जनता समाजवादी पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकालले निर्वाचन सम्बन्धी कानुन र विभिन्न आचारसंहिता पालना गर्न आफ्नो पार्टी तयार रहेको बताए। साथै उनले मतदाता परिचय पत्र नभएकाहरु अहिले पनि मतदान गर्न पाइन्छ कि पाइन्न भन्नेमा अन्यौल रहेको बताए।

दलका सबैजसो नेताहरुले नागरिकता जस्तै परिचय खुल्ने प्रमाण भएका र मतदाता नामावलीमा नाम रहेकाहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएका छन्। निर्वाचनमा उम्मेदवारले गर्ने खर्च, मौन अवधीको समय र सवारी साधन प्रयोगमा आचारसंहिता उल्लंघन हुन सक्ने तर्फ नागरिक समाजका व्यक्तिहरुले निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए।

राजनीतिक दल, पालिकाका प्रमुखहरु, नागरिक समाज, सुरक्षा निकाय, निर्वाचन कार्यालय सबैले आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्। तर यसको कार्यन्वयन कसरी हुन्छ त्यो बाँकी छ। नेत्रहिन संघ गोरखाका सचिव परशुराम भट्टले मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका हजारौँ व्यक्तिलाई समस्या हुने गरेको बताए।

‘हामीले भोट हाल्न अर्को व्यक्तिको सहायता लिनुपर्छ, यसो गर्दा हामीले भनेको ठाउँमा भोट गयो गएन भन्ने आशंका हुन्छ’ उनले भने ‘हामीलाई ब्रेललिपीको मतपत्र व्यवस्था हुनुपर्छ।’ यस अघिको निर्वाचनमा पनि मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा दुःख भोग्नुपरेको गुनासो उनले गरे।  

कार्यक्रममा जनप्रतिनिधिहरुले निर्वाचनमा उम्मेदवारले गरेको खर्चको मापन गर्ने आधार के हुने? परिचय पत्र हराएका तर निवेदन नदिएकाको हकमा के हुने? मतदाता शिक्षा अहिलेसम्म सुरु नहुँदा सर्वसाधारण अन्यौलमा पर्न सक्ने तर्फ निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए।

मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले आचारसंहिता पालना गर्ने र गराउन सबै प्रतिवद्ध हुनुपर्ने बताए। ‘हामी सबै सरोकारावालाहरुले पालना गर्‍यौँ भने उल्लंघन हुने सम्भावना नै रहन्न’ उनले भने। कतिपय मौखिक उजुरीले प्रमाण पुग्न नसक्ने बताउँदै उनले त्यस्ता घटना भएमा लिखित उजुरी दिन समेत अनुरोध गरे।

आयोगले जारी गरेको विषय भन्दा बाहिर जान नसक्ने बताउँदै उनले बैशाख ८ गते गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बताए। बैशाख ११ र १२ गते उम्मेदवारको मनोनय दर्ताको मिति तय भएको छ। गोरखामा दुइ सय १५ मतदान स्थल र तीन सय ११ मतदान केन्द्र रहेको छ।

एक हजार पाँच सय १८ जना कर्मचारी मतदान केन्द्रमा खटिने मूख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए। ‘आयोग र दलहरुको एउटै उद्देश्य लोकतन्त्रको सुन्दर अभ्यास हो’ उनले भने ‘यसमा सबै पक्षको सहयोग र महत्वपूर्ण भूमिका हुन्छ।’ आफू निश्पक्ष र पारदर्शी निर्वाचन गर्न प्रतिवद्ध रहेको जिल्ला न्यायाधिश समेत रहेका गोरखाका मुख्य निर्वान अधिकृत बरालले बताए।

प्रकाशित: ५ वैशाख २०७९ ११:४० सोमबार

गोरखाका राजनीतिक दल