राजनीति

ताप्लेजुङमा १४ दलको अभिलेखीकरण, २७ निर्वाचन चिन्ह भएको मतपत्र आउन सक्ने

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा २७ वटा सम्म निर्वाचन चिन्ह भएको मतपत्र आउने भएको छ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा अभिलेखीकरणमा जनिएका १४ दल, अभिलेखीकरणमा नपरेपनि राष्ट्रिय मान्यताप्राप्त लोकतान्त्रिक समाजवादी पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको सम्भावना हेरेर यो अवस्था देखिन आङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

‘आधिकारिक रुपमा २७ वटै चिन्ह भनेर आयोगबाट जानकारी त आएको छैन ’जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिपिन दुलालले भने‘तर सम्भावना लगभग त्यस्तै होला।’

उनका अनुसार जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च/संघीय लिम्बूवान राज्य परिषद्को नाम रहेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी,मंगोल नेस्नल अर्गनाईजेसन (एमएनओ), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टी(माले)को नाम अभिलेखीकरणमा रहेको छ।

राष्ट्रिय मान्यता प्राप्त दलसहित १५ वटा दलको निर्धारित चिन्ह र अन्य सम्भावित स्वतन्त्र उम्मेदवारलाइ आधार मानेर मतपत्र आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७९ ११:०१ सोमबार

स्थानीय तहको निर्वाचन ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङ