सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताएका छन्। एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उनले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शिर्ष तहमा सहमति गरिएको स्पष्ट पारे।
कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए। प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने स्मरण गराए।
त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उनले स्थानीय गठबन्धन दलहरुलाई सचेत गराए। प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भइरहेको छ।
प्रकाशित: ३ वैशाख २०७९ १३:१६ शनिबार