राजनीति

त्रियुगामा गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद

गठबन्धन नगर्न माग गर्दै संकलित हस्ताक्षर सभापति कार्कीलाई बुझाउँदै बस्नेत। तस्विरः महेश्वर

आसन्न स्थानीयतह निर्वाचनमा सत्तारुढ दलहरुबीच गर्ने भनिएको गठबन्धन उदयपुरमा पेचिलो बन्दै गएको छ।

सत्ता साझेदार दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने केन्द्रीय सहमति भइसकेर जिल्लाजिल्लामा निर्देशन दिइसक्दासम्म गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद हुँदै गएको छ।

माओवादी र एसमा गठबन्धनको विषय उत्ति समस्या नदेखिए पनि काँग्रेसमा भने स्पष्ट दुई धार देखा परेको छ। त्यसको उदाहरण सदरमुकाम त्रियुगा नगरपालिका र अन्य स्थानीयतहमा पनि देखिएको छ। काँग्रेसले त्रियुगामा मेयर आफूले पाउने गरी मात्र गठबन्धन गर्न अन्यथा गर्दै नगर्न शेखर कोईराला पक्षले दबाब दिदै आएको छ। गएको स्थानीयतह निर्वाचनमा मेयरका पराजित उम्मेदवार बसन्त बस्नेत पक्ष कुनै हालतमा गठबन्धन नगर्न र गर्ने परे मेयर काँग्रेसलाई दिनेगरी गर्न दबाब दिदै आएको छ।

त्रियुगामा यसअघि एमालेबाट जितेका बलदेव चौधरी नगरप्रमुख छन्। एमाले फुटेपछि माधव नेपाल नेतृत्वको नेकपा (एस) मा समाहित चौधरी नै गठबन्धनबाट उम्मेदवार हुने लगभग भित्री सहमति भइसकेको कुरा सार्वजनिक हुन नपाउँदै बस्नेतपक्षले पार्टीभित्र तीब्र असन्तुष्टि राख्दै आएको थियो। शुक्रबार सो असन्तुष्टि पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाएर उजागर भएको छ। बस्नेतपक्षले ४ सय १५ जनाको हस्ताक्षर संलन गरेर सभापति हिमाल कार्कीलाई बुझाएको छ।

संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउन बस्नेत, हालकी उपमेयर देवीकुमारी चौधरीलगायत कोइरालापक्षमा खुलेका नेता कार्यकर्ताको टोली नाराजुलुससहित पार्टी कार्यालय पुगेको थियो। टोलीले सभापति हिमाल कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यथास्थितिमा कुनै हालतमा गठबन्धन हुन नहुने अडान लिएको छ। त्रियुगा नगरपालिकामा काँग्रेस चुनाव लड्न आफैँ सक्षम रहेको, गएको निर्वाचनमाभन्दा पार्टी संगठन सुदृढ र बलियो भएको तथा वर्तमान मेयरबाट नगपालिकामा खासै विकास र परिवर्तन नभएको तर्क टोलीको छ।

हस्ताक्षर गर्नेमा देउवा इतर नेता कार्यकर्ताहरु बढी रहेको र उनीहरु १४ औं महाधिवेशनमा वडादेखि नगर, प्रदेश, जिल्ला र महाधिवेशन प्रतिनिधिसम्ममा पराजितहरु टोलीमा सहभागी रहेको बताइएको छ। ज्ञापनपत्र बुझाउँदा सभापति कार्की र पूर्व सभापति विदुर बस्नेत सँगै थिए।

ज्ञापनपत्र बुझ्दै सभापति कार्कीले गठबन्धन केन्द्रीय निर्देशन अनुसार गर्नुपर्ने भएकाले आफू पार्टी निर्देशनभन्दा बाहिर जान नसक्ने प्रष्ट गरे। तर, गठबन्धन गर्दा पार्टीको आत्मसम्मान नगर्ने, काँग्रेसलाई बढी भाग पार्ने प्रयास गर्ने तथा  उम्मेदवारको चित्त बुझाउने गरी गर्ने प्रतिबद्धता जनाए।

त्रियुगा नगरप्रमुख चौधरी नकेपा (एस)का पोलिटव्युरो सदस्य, प्रदेश अध्यक्ष तथा जिल्ला इन्चार्जसमेत हुन्। सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने केन्द्रीयस्तरमै सहमति भइसकेका बेला उनलाई पार्टीले पुनः मेयरमा सिपारिस गरिसकेको जनाएको छ।

उनी मेयर हुँदा गठबन्धनले काँग्रेसलाई उपमेयर दिने सहमति भएको छ। अघिल्लो चुनावमा झण्डै १२ हजार हाराहारी मत ल्याएर जितेका चौधरीलाई नै मेयर बनाउन गठबन्धनमा सहभागी एकीकृत समाजबादी अध्यक्ष माधव नेपाल स्वयं लागि परेको चर्चा पनि चलाइएको छ। ११ विजेताभन्दा ७२ मत कम अर्थात् ११ हजार ६ सय ५६ मत पाएका चौधरीका निकटतम प्रतिद्वन्द्वी बस्नेत भने उनलाई मेयर स्वीकार्न पटक्क सहमत छैनन्।

५ वर्षअघि ७२ मतले मात्र जितेका चौधरीको जनमत अहिले गिर्दै गएको र काँग्रेसको अवस्था भने त्यो बेलाभन्दा दोब्बर सुदृढ भएको बस्नेतले दावी गरे। एक्लै चुनाव जित्न काँग्रेस सक्षम रहेको तर, गठबन्धन गर्नै परे आफूलाई मेयरको टिकट हुनुपर्ने बस्नेतपक्षको माग छ। जवरजस्ती गठबन्धन गर्ने केन्द्रिय नेतृत्वको दबाब त्रियुगामा लागू गर्न नसक्ने सो पक्षको धारणा छ।

भदौमा सम्पन्न महाधिवेशन दौरानताका बस्नेत संघीय निर्वाचन क्षेत्रीय सभापतिमा देउवापक्षका खगेन्द्र राईसँग पराजित थिए भने त्रियुगा उपमेयर चौधरी प्रदेश क्षेत्रीय सभापतिमा सरोज बस्नेतबाट पराजित भएकी थिइन्।

देउवापक्षका काँग्रेस नेताहरु भने गठबन्धन गर्नै पर्ने जोडमा छन्। स्थानीयतह, प्रदेश र संघीय चुनावमा तेस्रो स्थानमा खसेको काँग्रेसले गठबन्धनकै वैशाकी टेकेर प्रधानमन्त्री, मुख्यमन्त्री र प्रदेस सरकारमा सम्मानपूर्वक सहभागीता जनाउन पाएको हुनाले गठबन्धन गर्नेपर्ने उनीहरूको राय छ। गठबन्धनलाई निरन्तरता नदिए पार्टीको सर्मनाक पराजय हुने भन्दै त्रियुगामा सवल भए पनि देशव्यापी अवस्थाको आँकलन गर्न उनीहरूको सुझाव छ।

प्रकाशित: ३ वैशाख २०७९ ०५:३८ शनिबार

आसन्न स्थानीयतह निर्वाचन